किन भयो शिक्षक लाइसेन्स परीक्षा विवादित ? हिस्टुनको बहिस्कारदेखि परीक्षा रद्दसम्म

काठमाडौं । यो हप्ता शिक्षक सेवा आयोगले गरेको अध्यापन अनुमति पत्र (लाईसेन्स) विज्ञापनमा केही अनौठा घटनाहरु भएका छन् । एकतातिर सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेज गर्न भन्दै परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । अर्कोतर्फ प्रश्नपत्रसँगै उत्तर पुगेपछि आयोगले लाइसेन्स विज्ञापन नै खारेज गरेको छ ।

अदालतको आदेश

सर्वोच्च अदालतले गएको मंगलवार शिक्षक लाइसेन्स खारेज गर्न परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न इन्कार गरेको छ । सर्वोच्च अदालतका न्यायधीश डा.आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५ र अहिले असोज ७ गरी ५ पटक सरेको थियो । गएको मंगलवार भने अदालतले यस्तो आदेश जारी गरेको हो ।

आयोगलाई राहत

अदालतको मुद्दाका कारण परीक्षा केन्द्र नै सार्वजनिक गर्न नसकेको आयोगले अन्तरिम आदेश जारी नभए लगत्तै निमावि र मावि तहको परक्षिाका लागि केन्द्र सार्वजनिक गरेको थियो । त्यस अघि नै प्राथमिक तहको केन्द्र सार्वजनिक गरेपनि मुद्दाका कारण मावि र निमावि तहको केन्द्र सार्वजनिक गरेको हो । आयोगले असोज ९, १० र ११ गते तीनै तहको लाइसेन्स परीक्षा सञ्चालन गरिसकेको छ ।

परीक्षा बहिस्कार

माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुनले अदालतले शिक्षक विज्ञापन खारेज गर्न अस्वीकार गरेपछि परीक्षा नै बहिस्कार गरेको छ । देशभर ७५ प्रतिशत शिक्षकहरुले लाइसेन्सको परीक्षा बहिस्कार गरेको हिस्टुनले दावी गरेको छ । यस्तै, लाईसेन्स परीक्षा वहिष्कार गर्न उत्रिएका २ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेका अनुसार केन्द्रिय उपाध्यक्ष विष्णु दौल्याल र सचिव वेदप्रसाद जोशीलाई प्रहरीले कैलालीबाट पक्रेको हो । परीक्षा वहिष्कारको आह्वान गर्दै हिँडेका बेला शिक्षकहरु पक्राउ परेका न्यौपानेले जानकारी दिए । हिस्टुनले शिक्षक लाइसेन्स परीक्षा बहिस्कार गर्न भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले खोलेको विज्ञापन नम्बर ३५ ले आफुहरुलाई नसमेट्ने भन्दै यूनियनका तर्फबाट शिक्षकहरुले अदालतमा रिट दायर गरेका थिए ।सर्वोच्च अदालतले परीक्षाको मुखमै अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेपछि हिस्टुनले परीक्षा बहिस्कार गर्ने निर्णय गरेको थियो । केन्द्रको निर्णय बमोजिम शिक्षकहरुले देशभर पम्प्लेट टाँस्ने, बहिस्कार गराउने काम गरेका थिए ।उक्त विज्ञापन अन्तर्गत रहेका ६ हजार २ सय जना शिक्षक मध्ये प्रारम्भिक तथ्याङ्क अनुसार ७५ प्रतिशतले परीक्षा वहिष्कार गरेको हिस्टुनका अध्यक्ष न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार कतिपय जिल्लामा त शतप्रतिशत शिक्षकबाट परीक्षा बहिष्कार गरिएको छ । सबै भन्दा धेरै परीक्षामा सामेल भएको काठमाडौं उपत्यकामा पनि ६० प्रतिशतले बहिष्कार गरेका उनले स्पष्ट पारेका छन् । शुक्रबार विहान ८ बजेबाट शुरु भएको थियो ।

प्रश्नपत्रसँगै उत्तर

शिक्षक लाईसेन्सको परीक्षा अन्तर्गत गएको शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको हरेक केन्द्रमा पठाईएको ४ अलग अलग सेट मध्ये उत्तर बोल्ड भएको सेट वितरण भएको छ । केही उत्तर सहितको प्रश्नपत्र वितरण भएको पाइएपछि तत्काल परीक्षा रोकी आयोगले अर्को प्रशन पत्र बाडेर परीक्षा सञ्चालन गरेको थियो । तर, सबै स्थानमा यसो गर्न सम्भव नभएको पाइएको थियो । आयोगले उत्तर सहितको प्रश्नपत्र वितरण भएको थाहा पाउना साथ तुरुन्तै अर्को प्रश्न पत्रको सेट खोलेर परीक्षा सञ्चालन गरिएकाले रद्द गर्नु जरुरी नभएको तर्क गर्दै आएको थियो । तर परीक्षार्थीले भने घटनालाई आयोगको हदै सम्मको लापरवाहीको संज्ञा दिर्दै आलोचना गरेका थिए ।

परीक्षा रद्द

आयोगले अन्ततः लाईसेन्सको परीक्षा अन्तर्गत गए शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरेको छ । आयोगले बस्तुगत प्रश्नको मात्रै कार्तिक २३ गते परीक्षा गर्ने गरी यसअघिको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । आयोगले तत्काल सच्याउन भनेपनि सबै जिल्लाहरुमा नसच्चिएको पाइएकाले परीक्षा नै रद्द गर्ने निर्णय गरिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि विबादमा फस्नु भन्दा बरु परीक्षा नै पुन सञ्चालन गर्ने आईतबार बसेको आयोगको बैठकले गरेको डा. थपलियाले बताए ।

५२ जिल्लाका ३ सय १ परीक्षा केन्द्र मध्ये शुक्रबारको अँग्रेजीका लागि ८२ वटा केन्द्रमा झण्डै १३ हजार ७ सय परीक्षार्थी सहभागी थिए ।

Loading...