जलवायु परिवर्तन सहन गर्ने बीउ बन्यो

काठमाडौं, २४ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर खाद्यान्न सुरक्षित गर्नका लागि धान र गहुँ बालीमा नयाँ बीउ पत्ता लगाउन सफल भएको जनाएको छ । परिषद्को २३ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कले खाद्य सुरक्षाको दृष्टिकोणले खाद्यान्न बाली धान, मकै र गहुँको अनुसन्धानलाई प्रमुखता दिएको जनाएको छ ।
नार्कका कार्यकारी निर्देशक डा दिलबहादुर गुरुङले जलवायु परिवर्तन अनुकूलन, रोगकीरा अवरोधक÷सहन सक्ने र बढी उत्पादन दिने नयाँ जातका बिउबिजनको उत्पादन, विकास र सिफारिसमा जोड दिएको बताए । उनका अनुसार धानमा सुख्खा सहन सक्ने सुख्खा ४, सुख्खा ५ र सुख्खा डुबान दुवै सहन सक्ने सुख्खा ६ को उन्मोचन भएको र उच्च पहाडका लागि बढी फल्ने र रोग नलाग्ने लेकाली धान १ र लेकाली धान उन्मोचनका लागि सिफारिस गरिएको छ ।
गहुँमा पहाडी क्षेत्रका लागि युजि ९९ रोक अवरोधक डाँफे र पहाड तथा तराइको लागि एनएल १०७३ सिफारिसको लागि पेस गरिएको कार्यकारी निर्देशक डा गुरुङले जानकारी दिए । उनले मकैको बर्णशङ्कर खुमलटार हाइब्रिड २ उन्मोचन लागि सिफारिस गरिएको र कर्णाली क्षेत्रको लागि चाँडो पाक्ने मकै कर्णाली २, अरुण २ र अरुण ३ सिफारिस गरिएको उल्लेख गरे ।
कफी अनुसन्धानका लागि गुल्मीको बलेटक्सारमा, न्यानो पानीमा हुने माछाका लागि बाँकेको खजुरामा र चिसो पानीमा हुने माछाका लागि रसुवाको धुन्चेमा, उच्च पर्वतीय कृषि अनुसन्धानका लागि जुम्लाको गुठीचौरमा पूर्वाधार निर्माण सुरु भएको जनाइएको छ ।
परिषद्ले नयाँ प्रविधि भित्र्याउने कार्यलाई यस आर्थिक वर्षमा प्राथमिकता दिएको छ भने गाई, भैंँसी, बाख्रा, भेडाका क्षेत्रमा अनुसन्धान कार्यलाई निरन्तरता दिएको छ । त्यसैगरी आलु, किवी, अदुवा क्षेत्रमा आवश्यक अनुसन्धान कार्य जारी रहेको उल्लेख गरिएको छ । गत वर्ष विभिन्न बालीका स्रोत बीउ एक हजार नौ टन उत्पादन गरी वितरण गरेकामा चालु आवमा ९४७ टन बीउ उत्पादन गर्ने लक्ष्य रहेको परिषद्ले जनाएको छ ।

Loading...