भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने चीनकाे चेतावनी

काठमाडाैं, १५ असार । भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही नाका हुँदै हजाराै तिर्थयात्रुहरु कैलाश मानसराेवर पुग्थे ।

पछिल्लाे समय साे नाकामा भारत र चिनियाँ सैनिकबीच झडपका दृष्य देखिने गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले बुधबार राजधानी बेइजिङमा अायाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा भारतले गल्ती नसच्याएसम्म नाथुला नाका नखुल्ने जानकारी दिएकाे छ । पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्रालयकी प्रवक्ता लु खाङले भारतले ठूलाे गल्ती गरेकाे बताइन ।

चीन–भारत सीमा अन्तर्गत सिक्किम क्षेत्रमा भारतीय सुरक्षागार्ड चीनमा प्रवेश गरेको भन्दै चीनले कैलाश मानसरोबर यात्रामा जाने तीर्थालुका लागि दुई वर्षअघि मात्र खोलिएको नाथुला नाका पुनः बन्द गरेको हो। चीनका राष्ट्रपति सी जिनपिङ पहिलो पटक भारत भ्रमणमा जाँदा तीर्थालुका लागि ५० वर्षदेखि बन्द रहेको नाका खोल्ने सहमती भएको थियो।

‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा चाहिं भारतले जतिसक्दो चाँडो आफ्नो त्रुटी सच्याउँछ, त्यति छिटो खुल्छ।’

चीन–भारतको नेतृत्व तहमा भएको सहमति अनुसार चीन–भारत सीमाको सिक्किमबाट तिब्बत प्रवेश गर्ने नाथुला नाका जुन २०१५ मा खोलिएको थियो। नाका खुलेसँगै भारतीय तीर्थयात्री नाथुलाबाट तिब्बतको बाटो भएर कैलाश मनसरोवर जाने गरेका थिए।

‘भारतीय तीर्थयात्रीको मानसरोवर यात्रालाई मध्यनजर गरी चीनका सम्बन्धित विभागले यसवर्ष पनि आवश्यक तयारी पूरा गरेका थिए’, प्रवक्ता लुले थपे, ‘नाथुला नाका स्थगित हुनुको कारण भारतीय सीमा रक्षकले अवैध रुपमा सीमा लाइन पार गर्नु हो, त्यसकारण चीनले चालेको यो आकस्मिक कदम थियो।’

चीनले भौगोलिक सार्वभौमसत्तामाथि कुनै सम्झौता नगर्ने अडान लिँदै भारतीय पक्षले तत्कालै आफ्ना सीमारक्षकलाई त्यहाँबाट फिर्ता लग्न चेतावनी दिएको छ। चीनले सोमबारदेखि नाथुला हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई भ्रमणमा प्रतिबन्ध लगाएपछि भारतीय तीर्थयात्री अलपत्र परेका छन्।

 

यी सामाग्री पनि 

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

 

Loading...