पत्रकार पुडासैनीको सुसाइडले देश तातिरहँदा सिंहदरवारभित्रै मृत भेटिएका केसीको साथमा भेटियो सुसाइड नोट

काठमाडौं, ३ भदौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा प्रहरीले सुसाइड नोट भेटिएको जनाएको छ । मंगलबार बिहान ११ बजे सिंहदरवारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा भेटिएका थिए ।

यसरी मृत अवस्थामा भेटिने काठमाडौंको टौदह निवासी बच्चु केसी रहेको प्रहरीले पत्ता लगाएको छ । उनी योजना आयोगमै नायव सुब्बा तहका कर्मचारी थिए । मृतक केसीले लेखेको सुसाइड नोटमा आफू कसैका कारण आत्महत्या नगरेको उल्लेख गरेको प्रहरी स्रोतले जनाएको छ । सुसाइड नोटमा आफ्नी श्रीमतीलाई चिन्ता नगर्नु भन्ने सन्देश पनि लेखिएको छ । साथै उनले आफ्नो आत्महत्यालाई ‘पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन’ भन्ने पनि लेखेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको साथमा भेटिएको सुसाइड नोटसँगै अन्य सामानहरु पनि लिएर त्यसलाई परिक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको जनाएको छ ।

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेटको खोल र केराको बोक्रा भेटिएको बताइएको छ । त्यो औषधी धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधि रहेको प्रहरीले जनाएको छ । सोही आधारमा उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ । प्रहरीले उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा पुगेर गरेको सुसाइड भिडियो रेकर्ड र त्यसपछिको आत्महत्याले देश तातेको छ । सोही भिडियोमा नाम जोडिएका कारण चर्चित पत्रकार रवि लामिछाने पक्राउ परेपछि उनको पक्षमा देशभर प्रदर्शन भइरहेको छ । रविसँगै उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि पक्राउ परेका छन् ।

रवि पक्राउ परेपछि सामाजिक सञ्जालमा सरकारप्रति ठूलो आक्रोश पोखिएको छ । सामाजिक सञ्जालमा पोखिएका आक्रोश बढ्दै गएपछि केही तुच्छ गाली गर्नेहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

Loading...