न्यू आईटी भेन्चर कर्पोरेसनको जापानको शिनओकुवोमा शाखा विस्तार

टोकियो । नेपाली र हिन्दी टेलिभिजन च्यानल र मोवाईल सिम लगायतका सेवा प्रदान गर्दै आएको न्यू आईटी भेन्चर कर्पोरेशन एनआईटिभीले जापानको टोकियोमा आफ्नो शाखा विधिवत रुपमा उद्घाटन गरेको छ ।

एनआईटिभीले टोकियोको शिनओकुवोमा शाखा कार्यालयलको विधिवत उदघाटन गरेको हो । अगष्ट ३ तारिख शनिबारका दिन एक विशेष समारोहका बीच एनआइटिभीले शाखा उद्घाटन गर्दै सेवाको जानकारी दिएको छ । नेपाली तथा विदेशीहरुको बाक्लो वसोवास रहेको टोकियोको सिनओकुवोमा रहेको शाखा कार्यालयको उदघाटन समारोहमा एनआईटिभी जापानका प्रमुख कार्यकारी अधिकृत कमल अधिकारी, गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी प्रवक्ता भूषण घिमिरे, नेपाली जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, चर्चित गायक ईश्वर गुरुङ, कास्की पोखरा समाजका पूर्व अध्यक्ष श्री गुरुङ, पूर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष सुभाष लोहनी, एनआरएनए जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल तथा एनआईटिभी जापानका म्यानेजर रिद्धीबहादुर तुङवाहाम्फे लगायतको उपस्थिति रहेको थियो । उनीहरु सबैले संयुक्त रुपमा रिवन काटेर शाखाको उदघाटन गरेका हुन् ।

उदघाटन समारोहमा एनआरएनए आईसीसी प्रवक्ता भूषण घिमिरेले डेढ दशकयता सेवामूलक व्यवसाय गर्दै आएको एनआईटिभीले जापानवासी नेपालीहरुमा धेरै सहयोग पुर्याएको बताए । त्यस्तै नेपाली जनसम्पर्क समिति जापानका सभापति रोशन केसीले मनोरञ्जन सहित सेवा पुर्याएको एनआरईटिभीले विदेशमा नेपाली च्यानल हेर्न सहज बनाएको बताए । उनले मोवाईल सिम तथा अन्य सेवा विस्तार गरेकोमा धन्यवाद दिँदै व्यवसाय सफलताको शुभकामना पनि दिए ।

त्यसैगरी चर्चित गायक ईश्वर गुरुङले नेपाली समुदायको मागलाई सम्वोधन गर्दै फरक सेवा पुर्याएकोमा प्रशंसा गर्दै अझै थप सेवा विस्तारमा अगाडी बढ्न सुझाव दिए ।

कास्की पोखरा समाजका पूर्व अध्यक्ष श्री गुरुङले जापानमा सेवारत नेपालीको कम्पनीले धेरैलाई विदेशमा रहेको भए पनि नेपाल जस्तै सहज सेवा प्रदान गरेको बताए । समारोहमा पूर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष सुभाष लोहनीले डेढ दशक अघिको नेपालीको सानो समुदायलाई लक्षित सेवा करिव एक लाख संख्यामा विस्तार भइरहँदा एनआरईटिभीले धेरै सेवा विस्ता गर्न सक्ने सुझाव दिए। एनआरएनए जापानका उपाध्यक्ष शिवप्रसाद पौडेलले विगत लामो समयदेखि आफुले जापानमा रहेर पनि नेपाली हिन्दी टेलिभिजन हेर्दै आएको स्मरण गराउँदै टेलिकम सेवा समेत विस्तार भएकोमा आभार व्यक्त गरे ।

एनआरईटिभीका प्रमुख कार्यकारी अधिकृत कमल अधिकारीले जापानवासी नेपाली सहित विदेशमा रहेका नेपालीहरुलाई सेवा पुर्याउने लक्ष्यमा कम्पनी सकृय रहेको जानकारी दिँदै पछिल्लो समय जापानमा नेपालीहरुलाई मोवाईल सिम तथा ईन्टरनेट सुविधामा सजिलो बनाएको दावी गरे । समारोहमा एनआरएनए आईसीसी सदस्य तथा जापान मनी एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, व्यवसायी जीवन गुरुङ, एनआरएनए जापानका सदस्य नारायण खडका, नेपाल पत्रकारमहासंघ जापानका अध्यक्ष मोहन घले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली हिन्दी तथा स्पोर्टस च्यालन सेवा प्रदान गर्दै आएको एनआरईटिभीले पछिल्लो समय नेपाली तथा विदेशीहरुलाई जापानको मोवाईल सिम सेवा पनि प्रदान गर्दै आएको छ। शाखा कार्यालय उदघाटनका अवसरमा एनआईटिभीले सिनओकुवो कार्यालयमा आउने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था पनि गरेको जनाएको छ।

Loading...