टोकियो । जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् ।
गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।
गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।
गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।
अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत विरामी ६५ बर्षमाथिका वृद्धवृद्धा रहेका बताइएको छ ।
आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तैे ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।
मङ्गलबार पनि जापानमा तापक्रम बढेको बताइएको छ । सिन्ह्वा समाचार संस्थालाई प्राप्त सूचनाअनुसार मध्यजापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मङ्गलबार तापक्रम ३७.१ सेल्सियस पुगेको छ । टोकियो नजिकका क्षेत्रहरू कुमागाया, साइतामा र क्योतोमाढी वरपर पनि ३६.८ सेल्सियस भन्दा बढी तापक्रम मापन भएको बताइएको छ ।