धेरै चर्चापछि बल्ल भए योगेश पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भएका छन् । दिउसो ४ बजे भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् ।

गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।

नवनियुक्त भट्टराई पार्टीमा आफ्नो कुरा प्रष्टसँग राख्ने युवा नेताका रुपमा चिनिन्छन् । ताप्लेजुङबाट संघीय प्रतिनिधिसभा सदस्य निर्वाचित भएका भट्टराई यसअघि नै मन्त्री बन्ने पटक पटक चर्चा गरिएको थियो । प्रदेश र संघीय प्रतिनिधि सभाको निर्वाचना ताका चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने भन्दै एक आमसभामा भाषण समेत गरेका थिए । उनी केपी ओली प्रधानमन्त्री बन्दा सुरुमै मन्त्री बन्ने चर्चा चले पनि त्यतिबेला उनी नपर्दा ओलीको व्यापक आलोचना समेत भएको थियो ।

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

Loading...