बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

बाँके, ८ भदौ । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन ।

बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । भाइरल ज्वरोले समातेपछि उनले खानासमेत खाएनन् ।

पानी तताउने र तातो भात तथा जाउलो पकाउने ठाउँ समेत छैन उनको घरमा । तरकारी र अन्नपात बाढीले बगाएका कारण उनको परिवारले बिहान मात्र खाना पकाउँछ । ‘खान पाएपनि भात र तरकारी चिसो हुन्छ,’ समिरले भने, ‘चाउचाउ बिस्कुट खाँदाखाँदा वाक्क लागिसक्यो ।’

उनको किताब, कापी र कलम ढलेको घरमै पुरिएको छ । किताब, कापी घरमा पुरिएपछि उहाँ निराश हुनुहुन्छ । ‘बिरामी भएर पढ्न जान पाएको छैन, किताव, कापी समेत घरमा पुरियो, अव के लिएर पढ्न जाने होला ?’ उनले भने ।

राप्ती–सोनारी गाउँपालिका–६, मोहनपुरकी ममता शाही पनि एक हप्तादेखि विद्यालय जान पाएका छैनन । उनी अध्ययनरत सरस्वती मावि पनेरियामा बाढीपीडितले आश्रयस्थल बनाएको र किताब, कापी लगायत शैक्षिक सामग्री विद्यालयले बगाएकाले उनले एक हप्तादेखि विद्यालय जान पाएका छैनन ।

‘किताब, कापी नदीले बगाएर लग्यो, बचेको पनि भिजेर काम नलाग्ने भएकाले विद्यालय जान सकेको छैन,’ ममताले भनिन ।
बाढी आएदेखि राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १३ वर्षीया लक्ष्मी चौधरीले विद्यालय जान पाएकी छैनन । उनी अध्ययनरत श्री भावना निमावि माहुमा बाढीपीडितले आश्रयस्थल बनाएर बसेकाले उनले पनि विद्यालय जान पाएकी छैनन ।

विद्यालय जान मन भए पनि उनीसँग न त किताब न त लेख्न कापी र कमल नै छ । ‘किताव, कापी जोगाउने प्रयास गरेको थिएँ, एक्कासी बाढी आएकाले केही गर्न सकिएन,’ लक्ष्मीले भनिन ।

बाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनीय बन्दै गएको मात्र हैन उनीहरु शिक्षा आर्जनको अवसरबाट समेत बन्चित हुनपुगेका छन् । बालबालिकामा रुघाखोकीले समात्ने, ज्वरो आउने, टाउको दुख्ने समस्या देखा परेको राप्ती–सोनारी गाउँपालिका–४ का वडा अध्यक्ष कान्छा चौधरीले बताए ।

सिविन नेपाल नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बाढी प्रभावित बैजापुरका बालबालिकामा मानसिक असर देखिएको बताए । उनका अनुसार बाढी पसेको, घर ढलेको र तहसनहस भएको देखेका बालबालिकामा डर कायमै रहेको छ ।

बालबालिकाको किताब, कापी बाढीले बगाएको र पानीले भिजेर पढ्न नमिल्ने भएको पाइएको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘बालबालिकाको अवस्था दयनीय छ । कतिपय भाइरल ज्वरोका कारण थलिएका छन् । उनीहरुले उपचार समेत पाएका छैनन् ।’

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका निर्देशक मुरारी प्रसाद खरेलले पनि बाँकेका बाढी प्रभावित क्षेत्रका बालबालिकाले समयमा खाना खान नपाएको र सुत्ने ठाउँ समेत नपाएको बताए ।

बाढीले जिल्लाका १४ हजार ९९५ विद्यार्थीको पढाइ प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको बाढीले क्षति पु¥याएपछि ८१ वटा विद्यालयको पठनपाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार जिल्लाका २९ वटा विद्यालय आश्रयस्थलका रुपमा प्रयोग भएका छन् । उनले राप्ती–सोनारीका १८ वटा विद्यालयलाई बाढी पीडितले आश्रयस्थल बनाएको जानकारी दिए ।

सामुदायिक भवन नभएका कारण बाढीपीडितहरु सामुदायिक विद्यालयलाई आश्रयस्थलका रुपमा प्रयोग गरिरहेका छन् । ‘पठनपाठनभन्दा मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर आश्रयस्थलका रुपमा प्रयोग गर्न दिइएको छ,’ जिल्ला शिक्षा कार्यालय भन्छ ।

राप्ती–सोनारी गाउँपालिकामा ५२ विद्यालय छन् । सो गाउँपालिकाअन्तर्गत पर्ने विनौना स्रोत केन्द्रमा पर्ने बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका ९ हजार ८८१, कक्षा ६ देखि ८ सम्मका ३ हजार ६९८, कक्षा ९ देखि कक्षा १० का १ हजार ४०७ र कक्षा ११ देखि १२ का ६९ विद्यार्थीको पढाइ प्रभावित भएको थाहाभएको छ ।

Loading...