धनगढीमा पनि ‘६ लेन’को सडक निर्माण सुरु

धनगढी, ७ भदौ । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ ।

मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिकचरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने कार्य सुरु भइसकेकाले सो स्थानमा पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामको प्रक्रिया अघि बढाइएको बताए ।

हालको कालोपत्र सडकको केन्द्र भागदेखि दयाँबायाँ २५ मिटर (८२ दशमलव ५फिट) चौडा बनाइने यो सडकको काम आगामी दुई वर्षमा सम्पन्न हुने बताइएको छ । सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका घर पर्खाल भत्काउनुपर्ने भएको छ । जग्गा प्राप्ति ऐन२०३४अनुसार सडक क्षेत्रमापर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जा दिन नपर्ने श्रेष्ठले जानकारी दिए ।

जम्मा १४ दशमलव १७ किलोमिटर लामो रहेको यो सडकको सहरी क्षेत्रमा पर्ने १० किलोमिटर भागमा ‘छ लेन‘को र बाँकी ग्रामीण क्षेत्रको भागमा ‘चार लेन‘को निर्माण गर्ने लक्ष्य राखिएको छ । सडकको बीच भागमा तीन मिटर चौँडा भएको ‘ग्रिन वेल्ट‘ र सडक दायाँबायाँ ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ ।

सडक विभागको उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत इष्टिमेट करिब दुई अर्ब १५ करोड रहेको बताइएको छ । स्तरोन्नतिपछि यो सडकले पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गका साथै धनगढी र अत्तरिया आसपासका अन्य सडकलाई जोड्ने भई यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

अत्तरियादेखि धनगढी मोहनासम्मको हालको सडक निकै साँघुरो एवं जीर्ण हुँदा आवागमनमा कठिनाई उत्पन्न हुने भई सडक दुर्घटनासमेत बढ्ने गरेका छन् । यस्तो अवस्थामा यो सडकको स्तरोन्नतिपछि आवागमन पनि सहज हुने देखिएको छ ।

Loading...