बाढीले डुब्याे मुम्बई, बाढीमा डुबेको रेलबाट १५ घन्टापछि गरियो उद्धार

लगातारको वर्षाका कारण भारतीय सहर मुम्बईका कतिपय स्थान जलमग्न भएका छन् । विगत २४ घण्टामा भएको भीषण वर्षाले स्थिति असामान्य बनेको अधिकारीहरुले जनाएका छन् ।

लगातारको वर्षापछि नदीहरूको जलस्तर बढा मुम्बई आसपासका बदलापुर, उल्हासनगर, वांगणी क्षेत्रका अधिकांश भाग डुबेका छन् । त्यसैगरी अत्यधिक वर्षाकै कारण मुम्बईको रेल सेवामात्र अवरुद्ध भएको छैन दर्जनौं उडानहरु पनि स्थगित गरिएको छ । भारतीय जलवायु अधिकारीहरूले आइतबारदेखि करिब २४ घण्टा ठूलो वर्षा हुने अनुमान गरेका छन् ।

मुम्बई छेउको वांगणीमा अत्यधिक वर्षापछिको बाढीमा फसेको रेलमा सवार हजारभन्दा बढी यात्रुको सकुशल उद्धार गरिएको छ । शुक्रबार रातिदेखि बाढीमा फसेको ट्रेनमा रहेका यात्रुलाई विभिन्न सुरक्षा निकायहरूको समन्वयमा करिब १५ घन्टापछि उद्धार गरिएको हो । उद्धारमा नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ), आरपीएफ, जलसेना तथा वायुसेनाका दस्ता खटिएका थिए । यात्रुहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान दर्जनौं डुंगा र दुईटा हेलिकप्टरको प्रयोग गरिएको थियो । एनडिआरएफको मात्र छ वटा टोली खटिएका थिए ।

वर्षाका कारण आएको बाढीले रेलको लिक डुब्दा मुम्बईको कल्याणबाट कोल्हापुरका लागि छुटेको महालक्ष्मी एक्सप्रेस मुम्बई छेउको थाने जिल्लाको बदलापुर र वांगणी स्टेशननजिक फसेको थियो । बाढीका कारण पानी ट्रेनभित्रै छिरेको थियो र त्यसको स्तर बढै गएको थियो ।

उद्धारमा समय लाग्दा यात्रुहरु १५ घन्टासम्म भोकैभोकै बस्न बाध्य भएका थिए । वरपर डुवान भएपछि रेल्वे प्रशासनले यात्रुहरूलाई रेलमै बस्न अनुरोध गरेको थियो । भारतीय सन्चामाध्यमका अनुसार स्थानीय प्रशासनले यात्रुहरुलाई उद्धारपछि नजिकैको अस्थायी क्याम्पमा पुर्‍याइएको छ । जहाँ उनीहरुको स्वास्थ्य जाँच र खानाको व्यवस्थाको गरिएको छ ।

अत्यधिक वर्षापछि मुम्बई र त्यस आसपासका क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएका छन् । करीब ३ साताअघि पनि अत्यधिक वर्षाका कारण मुम्बई शहरको जनजीवन अस्तव्यस्त बनेको थियो । करीब १ करोड ८० लाख मानिसको दैनिकी कष्टकर बन्नपुगेको थियो भने २७ जनाले ज्यान गुमाएका थिए ।

केही दिनको अविरल वर्षाले नै जलमग्न हुनुमा मुम्बईका नदी र नालाहरुमा बढो अतिक्रमण प्रमुख कारण ठानिएको छ । विशेषगरी मुम्बईको मध्यभाग भएर बग्ने मिठिलगायतका नदीहरुको प्राकृतिक वहाव अवरुद्ध गरिएका डुबान हुने गरेको छ ।

विभिन्न अध्ययनले मिठिलगायतका मुम्बई शहर भएर बग्ने पानीका प्राकृतिक स्रोतहरुको पचास प्रतिशत भाग अतिक्रमणमा परेको देखाएका छन् । त्यसका साथै जीर्ण ढल संरचना पनि मुम्बईको डुबानको कारका ठानिएको छ ।

Loading...