वार्ताबारे विप्लवको कठोर प्रतिक्रिया, वार्ताको हल्ला ‘भ्रमपूर्ण बकवास’ भएको दावी

काठमाडौं, २ साउन । वार्ताको हल्ला चलिरहेका बेला विद्रोही नेपाल कम्युनिस्ट पार्टीले सरकारप्रति कठोर प्रतिक्रिया जनाएको छ । सरकारका तर्फबाट सत्तारुढ दलका केही नेताहरु वार्ताको पहल गरिरहेको हल्ला चलिरहँदा विद्रोही नेकपाले ‘वार्ताको हल्ला भ्रमपूर्ण बकवास’ भएको बताएको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै सरकारले ‘गोयबल्स शैलीमा वार्ताको बकवासपूर्ण हल्ला फैलाएको’ बताएका छन् । साथै उनले सरकारले वार्ताको हल्ला फैलाएर थप दमनको तयारी गरेको पनि दावी गरेका छन् ।

नेकपाका महासचिव विप्लवका दाइ समेत रहेका नेता विरजंगले स्थानीय सरकारका जनप्रतिनिधिहरु अहिले सुराकीको भूमिका खेलेको पनि दावी गरेका छन् । उनले भनेका छन्, ‘कतिपय कथित जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ ।’

धेरैले सरकारका तर्फबाट वार्ताको हल्ला चलाएपछि विद्रोही नेकपाले पनि त्यसको सकारात्मक जवाफ स्वरुप विज्ञप्ति जारी गर्न सक्ने अनुमान गरेका थिए । तर, त्यसविपरित नेकपाका महत्वपूर्ण नेताको यस्तो विज्ञप्ति आएको हो । उनले ‘राजनीतिक लडाइँको मोर्चामा’ वर्तमान सरकार हारेर यस्तो हल्ला चलाएको र आफ्ना नेता कार्यकर्ताहरुलाई ‘गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनामा उत्रिएको’ दावी गरेका छन् ।

त्यतिमात्र होइन नेकपाले सरकारका विरुद्ध संघर्षका कार्यक्रम पनि ल्याएको छ । नेकपाले अब सरकारी गाडीहरुलाई सडकमा गुड्न नदिने जनाएको छ । नेता विरजंगले विज्ञप्तिमा भनेका छन्, “मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको छ ।”

नेकपाले सरकारी गाडी सडकमा चलाइएमा तिनलाई नियन्त्रणमा लिइ कारवाही चलाउने चेतावनी पनि दिएको छ । नेता विरजंगले भनेका छन्, “उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने कुरा जानकारी गराउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु सोही निर्णय अनुसार अगाडी बढ्नसमेत यो वक्तव्य मार्फत् जानकारी गराउँदछौं ।”

बिहीबार नै सरकारका प्रवक्ताले पनि वार्ताका बारेमा कठोर भनाई बाहिर ल्याएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले विप्लवले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चिता भए मात्र वार्ता हुने प्रष्ट पारेका थिए । उता नेकपा मध्यपश्चिम कमाण्ड इन्चार्ज समेत रहेका प्रभावशाली नेता विरजंगको यो विज्ञप्ति आएपछि वार्ताको हल्ला प्रकरणको करिव करिव अन्त्य भएको ठानिएकाे छ ।

हेर्नुहोस यो पनि

विप्लवले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र वार्ता गर्ने सरकारका प्रवक्ता प्रष्टोक्ति

 

हेर्नुहोस नेकपाकाे विज्ञप्ति

 

 

Loading...