टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला विपक्षी नेतालाई यसरी लगाइयो हतकडी

लुसाका । जाम्बियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ ।

विपक्षी दल युनाइटेड प्रोग्रेस पिपुल्स (यूपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेको उहाँको पार्टी यूपीपीले पुष्टि गरेको छ ।

पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्नो नेतालाई प्रहरी मुख्यालयमा राखिएको भए पनि अहिलेसम्म पक्राउ गर्नुको कारणका बारेमा केही स्पष्ट नपारेको जानकारी दिए ।

प्रहरी प्रवक्ता इस्थेर म्वाता कातोङ्गोले पनि उहाँलाई पक्राउ गरिएको पुष्टि गरे पनि अन्य जानकारी दिन भने अस्वीकार गरे । “उहाँलाई हामीले ल्याएका हौँ, तर अरू विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन,” कातोङ्गोले भने ।

प्रहरीद्वारा पक्राउमा पर्नुभएका विपक्षी दलका नेता चिसिम्बा राष्ट्रपति इड्गार लुङ्गु नेतृत्वको सरकारका खरो आलोचक हुन भने सरकारको तर्फबाट हालै भएको भ्रष्टाचारसम्बन्धी केही विवरणहरू पनि प्राप्त गरेका छन् ।

नेता चिसिम्बाले हालै मात्र “हाम्रो पैसा फिर्ता देउ” नामक पुस्तक प्रकाशित गरेका थिए । सरकारी अधिकारीले धेरै भ्रष्टाचार गरेका छन्, त्यसका विरुद्धमा अभियान चलाउनु पर्छ भन्ने आशय पुस्तकमा भएको बताइएको छ ।

सरकारविरोधी अभियानकै कारण उनलाई केहीदिनदेखि सुरक्षाकर्मीले पछ्याइरहेका थिए । अहिले पक्राउ गरिएका नेताकै पार्टीका अर्का नेता हकैन्डे हिचिलेमालाई पनि गत अप्रिलमा राजद्रोहको मुद्दा लगाई पक्राउ गरिएको थियो ।

राष्ट्रपति लुङ्गुले गत महिना संकटकालको घोषणा गर्दै नागरिकलाई निगरानी गर्न तथा पक्राउ प्रहरीलाई थप अधिकार दिएका छन् ।

Loading...