भक्तपुर नगरपालिकाले दिन शुरु गर्यो शैक्षिक ऋण

 

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण वितरण सुरु गरेको छ । ६ प्रतिशत ब्याजमा बढीमा पाँच लाखसम्म पाइने उक्त ऋण भक्तपुर नपाले चालू आर्थिक वर्षमा ३६ जना विद्यार्थीलाई वितरण गरेको हो ।

आइतबार एक कार्यक्रमबीच भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निवदेन दिएका ३६ जनालाई शैक्षिक ऋण प्रदान गरेका हुन् । भक्तपुर नपाले विद्यालय तथा कलेजको पत्रको आधारमा विद्यार्थीहरुलाई ऋण प्रदान गर्ने व्यवस्था गरेको छ । त्यसैले विद्यार्थीलाई नगद नदिई शैक्षिक ऋणको सदुपयोग गर्ने उद्देश्यले विद्यालय वा कलेजको खातामै ऋणी विद्यार्थीको शुल्क भुक्तानी गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी, भक्तपुर नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूमध्ये वडा कार्यालयको सिफारिसमा शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण दिने प्रवन्ध मिलाइएको छ । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त ऋण प्रदान गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

नपाले दुई जना एमबीबीएस डाक्टरहरूलाई उच्च शिक्षाको लागि पूर्ण छात्रवृत्ति दिने प्रक्रिया अघि बढाइएकोसमेत बताए। प्रमुख प्रजापतिले भक्तपुर नगरलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले उच्च शिक्षामा जोड दिएको स्पष्ट पारे।

न्गरपालिकाले चालू आर्थिक वर्षमा बढीमा एकसय जना विद्यार्थीलाई शैक्षिक ऋण दिने निर्णय गरेको थियो । सोहीअनुसार उसले पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Loading...