अपराध बढ्दो : एक वर्षमा ११ सय ३९ बलात्कार, ६ सय १७ हत्या

काठमाडौं, १७ साउन । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन्।

गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३र७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ सय ९९ बढी हो । आव ०७२र७३ मा २८ हजार पाँच सय ६३ अपराधका घटना प्रहरीमा दर्ता भएका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ। त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन्। अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो। त्यस्तै, बलात्कारका घटना पनि बढेका छन्। यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन्।

अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए। यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ। त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन्।

Loading...