गोकर्णमा सार्क राष्ट्रका कलाकारहरुकाे शिविर सुरु

काठमाडौँ, १३ साउन । काठमाडौंको गोकर्णमा सार्क कला शिविर भएको छ । सार्क क्षेत्रका कलाकारहरु सहभागी भएको शिविरमा बंगलादेशी कलाकार रिजाउन नावी बंगलादेशी कलालाई सार्कस्तरीय मञ्चमा प्रस्तुत गरेर सार्क देशबीचको मित्रतालाई अझ गाढा बनाउने ध्याउन्नमा छन ।

पहिलो पटक नेपाल टेकेकी भुटानी कलाकार तेन्जिङ योङचेर छोनी पेल्जोङ पनि भुटानको समसामयिक कलालाई पस्कने तरखरमा छन् । श्रीलंकाका प्रिन्टमेकर जयन्त पुस्पकमारा नेपालको प्राकृतिक सौन्दर्य र आफ्नो देशको मौलिक कलालाई क्यान्भासमा सजाउँदै छन ।

नेपाली कलाकार एरिना ताम्राकारले नेपाली प्राकृतिक सौन्दर्यलाई महिला विम्बमा उतार्दै छिन भने कलाकार अनिता भट्टराई यहाँको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई आफ्नो सिर्जनामा ल्याउँदैछिन ।

यसैगरी नेपाली कलाकार लोक÷परम्परागत कलाकार लोक चित्रकार, उदयचरण श्रेष्ठ र एससी सुमन लोककलामा पनि नेपाली समसामयिक कलाको विम्ब प्रस्तुत गर्दै छन । कलाकार ज्योतिप्रकाश विक, सुनिता राणा, जश्मीन राजभण्डारी, नम्रता सिंह र शुभ जोशीले आआफ्नो शैलीमा प्रकृति र लुकेका सौन्दर्यलाई कलामा प्रस्तुत गर्दैछन ।

नेपालमा पहिलो पल्ट आयोजित सो कार्यक्रम सार्क संस्कृति केन्द्र कोलम्बोको सातौंँ संस्करण हो । शिविरमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका लगभग तीस कलाकार सहभागी छन् । चारदिने शिविरको अन्तिम दिन साउन १६ गते सिर्जित कलाको प्रदर्शनी गरिने संस्कृति मन्त्रालयका उपसचिव रामप्रसाद सापकोटाले जानकारी दिए ।

Loading...