गान्धीवादी कांग्रेस सार्वजनिक गाडी जलाउँदै, ६ गाडी नियन्त्रणमा, २ गाडी आगो लगाइ ध्वस्त

काठमाडौं । प्रजातान्त्रिक विचार, विधिको शासन र अहिंसात्मक आन्दोलनको प्रमुख अनुयायी दावी गर्ने नेपाली कांग्रेसले पछिल्लो समय प्रतिपक्षीय आन्दोलनलाई प्रभावकारी बनाउन केही हिंसात्मक गतिविधिजन्य क्रियाकलापहरु गर्न थालेको छ । शनिवारमात्र कांग्रेसले ६ वटा सरकारी सवारी साधनहरु नियन्त्रणमा लिएको छ । त्यसमध्ये २ वटा सवारी साधनमा मान्छेहरुलाई जवरजस्त ओरालेर पेटोल खन्याई आगजनी समेत गरेको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले यस्ता क्रियाकलापहरु गरेको हो । नेविसंघले यसरी गरेको कानुन विपरित सार्वजनिक सम्पति ध्वस्त बनाउने कार्य आगजनीका कार्यप्रति नेपाली कांग्रेसका बरिष्ठ नेताहरुले भने कुनै प्रतिक्रिया जनाएका छैनन । विगतमा अरु राजनीतिक पार्टीहरुले यसैगरी सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका घटनामा कांग्रेसले कडा प्रतिक्रिया दिने गरेको थियो । कांग्रेस नेताहरुले राज्यको कानुन हातमा लिन नहुने भन्दै कानुन कार्यान्वयन गर्ने निकायले मात्र त्यस्तो गर्न पाउने बताउने गरेका थिए । तर, यसपटक भने आफै यसरी सार्वजनिक सम्पतिमा आगो लगाउने तथा नियन्त्रणमा लिने कार्य आफै कांग्रेसले गरेको छ ।

नेविसंघले शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चढ्ने गाडी नियन्त्रणमा लिएको थियो । विदाका दिन सरकारी गाडी चलाउन नदिने अभियान घोषणा गरेको नेविसंघले काठमाडौंको लाजिम्पाटबाट सचिव शिशिर कुमार ढुंगाना चढ्ने बा १ झ ९९९५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो।

त्यसैगरी नेविसंघले शनिबार नै भारतीय दूतावास नजिकबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ । नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्टसहित सुवास घिमिरे, निरञ्जन थापा, गणेश सापकोटा, सन्तोष गुरुङ, सुसान्त आचार्यलगायतले ती सरकारी गाडी नियन्त्रणमा लिएको बताइएको छ । नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्टले संगठनको निर्णय अनुसार नै आफूहरुले गाडीहरु नियन्त्रणमा लिएको बताए । उनले ती गाडीहरु साँझसम्म टाफिक प्रहरीलाई जिम्मामा लगाइने जानकारी पनि दिए ।

शनिबार बिहान नै नेविसंघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको थियो । त्यसैगरी शनिबार नै संघले काठमाडौंको बुद्धनगरमा पनि बा १ झ ७७१५ नम्बरको सरकारी गाडीमा आगजनी गरेको थियो । गाडीमा चढेका मान्छे जवरजस्त झारेर नेविसंघका कार्यकर्ताले पेटोल छर्केर आगजनी गरेका हुन ।

शनिवार नै नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुख सवार बा २ झ ४१८८ नम्बरको स्कोरपियो पनि नियन्त्रणमा लिएको थियो । त्यस्तै नेविसंघ डोटीले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९२० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको थियो ।

Loading...