धोनीको उत्कृष्ट प्रदर्शनपछि सहजै पराजित भयो बैंगलोर

काठमाडौं, २३ बैसाख ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ नजिक पुगेको छ।

शनिबार भएको पहिलो खेलमा विराट कोहलीको टिम बैंलोरलाई महेन्द्र सिंह धोनीको टिम चेन्नईले सहजै हराएको हो। चेन्नईको जितमा कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे।

१ सय २८ रनको सामान्य लक्ष्य चेन्नईले १८ ओभरमा ६ विकेट गुमाउँदै पार गर्‍यो। १८ औं ओभरमा तीन छक्का प्रहार गर्दै कप्तान महेन्द्र सिंह धोनीले चेन्नईको जितलाई सहज बनाए। धोनी यस प्रतियोगितामा उच्च लयमा देखिएका छन्। उनी ३१ रनमा नट आउट रहे। चेन्नईका लागि अम्बाती रायडुले ३२, सुरेश रैनाले २५ रन जोडेका थिए।

यसअघि बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनायो। उसका लागि पार्तिभ पटेलले ५३ रनको योगदान दिए। एबी डी भिलियर्सले पछिल्लो केही खेल गुमाएपछि यस खेलमा फर्किए पनि १ रन मात्र बनाउँदै पवेलियन फर्किए। उनलाई धोनीले हर्बजन सिंहको बलमा स्टमपिङ्ग गरेका थिए। रविन्द्र जडेजाले ३ तथा हरबजन सिंहले २ विकेट लिए।

यो पराजयसँगै बैंगलोर ९ खेलमा ३ जित सहित छैटौं स्थानमा रहेको छ। यता विजयी भएको चेन्नई १० खेलमा १४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ। गएरातिनै भएको अर्को खेलमा दिल्लीलाई हराउँदै सनराइज हैदारावाद शीर्ष स्थानमा उक्लिएको छ।

Loading...