धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

काठमाडौं, १६ चैत ।

चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताउए । नेपाली क्रिकेट टोलीका कप्तान एवं प्रतियोगितामा भाग लिने विराटनगर किंग्सका रणनीतिक खेलाडी पारश खड्काले प्रतियोगिताको आयोजनाले क्रिकेट क्षेत्रमा नयाँ नयाँ खेलाडी जन्मिने भई नेपाली क्रिकेट खेलको बिकासमा योगदान पुग्ने बिश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा प्रतियोगिता अघि आज सम्पूर्ण टोलीका कप्तान र सञ्चालकहरुको उपस्थितिमा प्रतियोगिताको ‘ट्रफि‘ सार्वजनिक गर्न लागिएको जानकारी दिइएको छ ।

धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना हुँदैछ । खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पिच र मैदान आकर्षक ढंगले तयार गरिएको छ भने दर्शकहरु बस्नका लागि झण्डै सात हजार क्षमताको अस्थायी ‘प्यारापिट’ निर्माण गरिएको छ ।

खेलको प्रत्यक्ष प्रसारण एपी वान एचडी टेलिभिजनमार्फत गरिने छ । देशको पहिलो अक्सन र सिटी बेस्ड फ्रेन्चाइजमा आधारित यो प्रतियोगितामा टोली चौराहा धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाण्डु गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्ससमेत छ टोलीले भाग लिन लागेका छन् ।

कूल १९ वटा खेल खेलाइने प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख तेस्रो हुनेले रु तीन लाख र चौथो हुनेले रु दुई लाख पाउनेछन् ।

यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले मोटरसाइकल, गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पाउनेले गोल्डन बुट र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’को उपाधि पाउनेले १० हजार पुरस्कार पाउनेछन् ।

Loading...