सांस्कृतिक क्रान्तिको ५० वर्षपछि

गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्‍यो । सांघाईमा आफ्ना अन्तिम वर्ष बिताइरहेका छि वेन युको मृत्युले चीनमा कम्युनिस्ट शासनका अत्यन्त खराब वर्षबारे फेरि एकपटक चर्चा उठायो । माओका प्रचार सचिव रहेका र सांस्कृतिक क्रान्तिकालमा राजनीतिक प्रोपोगान्डाको काम गरेका छिले पछिल्लो समयसम्म पनि त्यसको बचाउ गरिरहे, अझै सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताइरहे ।
चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९८१ देखि नै सांस्कृतिक क्रान्तिको समयलाई बरवादीको दशक भन्ने गरेको छ, जुन सन् १९६६ देखि १९७६ सम्म चलेको थियो । लाखौँ मानिस, शिक्षक, प्रोफेसर, डाक्टर, कलाकार, लेखक, नेताहरूसमेत, जसमा राष्ट्रपति ल्यु साचो ची पनि पर्छन् मारिए, जेलमा परे, कारबाहीमा परे । यस्तो कारबाही पनि अत्यन्त क्रूर ढंगले गरिन्थ्यो । सबैभन्दा दर्दनाक दृश्यचाहिँ बाबु या आमालाई छोराछोरीले, आमाले सन्तानलाई लोग्नेले स्वास्नी या स्वास्नीले लोग्नेलाई बुर्जुवा र पार्टीविरोधी भएको आलोचना सार्वजनिक रूपमा गर्न लगाएर कतिपय वेला ढुंगाले समेत हान्न लगाइन्थ्यो । स्कुल कलेजहरू बन्द भएका थिए । पछि सहरका मध्यम र उच्च वर्गका धेरैलाई सुधार गर्न भन्दै गाउँ–गाउँमा पठाइयो । अर्थतन्त्र, शैक्षिक गतिविधि र सुरक्षासहितको प्रशासनिक व्यवस्था अस्तव्यस्त भएको थियो । अहिलेका राष्ट्रपतिका पिता पनि जेल जानेमा परेका थिए र यिनै सी जिनपिङ पनि गाउँमा गएर काम गर्न बाध्य भएका थिए ।
सांस्कृतिक क्रान्तिका मुख्य सञ्चालक भनिने बदनाम चारजनाको गुट (ग्याङ अफ फोर) का सदस्यमध्ये सबैको १० वर्षअगाडि नै मृत्यु भइसकेको छ । माओकी पत्नी तथा ग्याङ अफ फोरकी मुख्य नेता चियाङ चिङले जेलमै रहेका वेला १९९१ मा आत्महत्या गरेकी थिइन् । बाँकी तीनजनामध्ये वाङ होङ वेनको १९९२ मा जेलमै छँदा क्यान्सर लागेर उपचारका क्रममा अस्पतालमै मृत्यु भएको थियो । याओ वेन युआन र झाङ चुन छियाओको जेलबाट रिहा भएपछि सन् २००५ मा निधन भएको थियो । उनीहरू सबैलाई माओको निधनलगत्तै सन् १९७६ मा गिरफ्तार गरी मुद्दा चलाइएको थियो । १९८१ मा उनीहरूविरुद्ध फैसला सुनाइयो । चियाङ चिङ र वाङ होङ वेनलाई पहिले मृत्युदण्डको सजाय तोकेर पछि आजीवन काराबासको सजाय दिइएको थियो । सांस्कृतिक क्रान्तिका अर्का अभियन्ता लिन पियाओ आफैँ सत्ता हस्तगतको प्रयास गर्न लागेको पत्ता लागेपछि भागेर सोभियत संघतिर जान लाग्दा, उनी चढेको चिनियाँ वायु सेनाको लडाकु जहाज चिनियाँ सेनाले मंगोलियाको सीमाभित्र खसालिदियो र पियाओ मारिए । र, कैयन् त्यस्ता नेता थिए, जसलाई दण्डित गरिएको थियो । यो वितण्डा मच्चाउने सिनियर सदस्यमध्ये एकजना बदनाम नेता छि वेन यु पनि हुन् । उनले नै सांस्कृतिक क्रान्तिको थालनी मानिएको मे १६ को सर्कुलर तयार पार्न मुख्य भूमिका खेलका थिए भनिन्छ । उनी त्यतिवेला माओका विश्वासप्राप्त पार्टी प्रचार संयन्त्रका हाकिम थिए ।
यही मे १६ मा सांस्कृतिक क्रान्ति थालनीको पचास वर्ष पुग्दै छ । अफिसियल्ली नरुचाइए पनि चीनमा यो वर्ष यस्ता प्रकारका बहस निकै चलेका छन् । कसैले निकै आलोचना गरेका छन् । कसैले अझै सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको दाबी गरिरहेका छन् । यो साता अवश्य पनि यसले विश्वभर चर्चा, आलोचना र समर्थनका लागि सञ्चार माध्यममा स्थान पाउनेछ ।
सांस्कृतिक क्रान्ति १९६६ को १६ मेमा पेकिंगको पार्टी सचिवले पार्टीमा सुधारवादी प्रतिक्रान्तिकारीको प्रभाव बढेको र बुर्जुवा अधिनायकत्व स्थापनाको प्रयास गरिएको भन्दै जारी गरिएको सर्कुलरले जन्माएको आम हलचल थियो । १ जुन १९६६ मा पार्टीका तर्फबाट एउटा सर्कुलर जारी गर्दै गलत र पुराना राक्षसी विचारका विरोधमा विद्रोह गर्न आमजनतालाई अपिल गरियो, जसलाई पार्टी हेडक्वार्टरका तर्फबाट अघोषित रूपमा सांस्कृतिक क्रान्ति थालेको दिन मानिन्छ । अगस्टमा भएको पार्टीको विस्तारित बैठकले यसलाई पार्टीको मूल कार्यदिशा बनाएको थियो ।
त्यसअघि ‘हा रुईको जागिर खोसियो’ भन्ने एउटा पेकिंग अपेराका विषयलाई लिएर चर्को बहस सिर्जना भएको थियो । उ हान भन्ने एकजना राजनीतिक कार्यकर्ता तथा लेखकले मिङ वंशको राज्य कालका कर्मचारी हा रुईको विषयमा लेखेको नाटक थियो त्यो । त्यो नाटकको पात्र हा रुई (सत्य इतिहासमा आधारित) जनताका गुनासा वादशाहकहाँ पुर्‍याउँथ्यो । उसले एकदिन वादशाहको दर्शन भेट पायो र उनकै सामु उनको आलोचना गर्दै भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगायो । वादशाहलाई निकै रिस उठ्यो, तत्काल उसको जागिर खोसेर जेलमा पठाइदिए । क्रान्तिपछि उसलाई जेलबाट रिहा गरियो र उसको जागिर पनि पुनर्वहाली भयो । यो अपेरा देखाइसकेपछि माओका केही मान्छेले अपेराले माओलाई नै लक्षित गरेको भन्दै आलोचना गरे ।
घटनालाई पहिले माओसँग जोडियो र पछि कम्युनिस्ट पार्टीको सत्ता र समाजवादविरोधी करार गरियो । यसले एउटा बबन्डर सिर्जना गर्‍यो । यसको समर्थन गर्नेको आलोचना गर्ने र त्यसैलाई सांस्कृतिक या विचारधारात्मक विचलनको संज्ञा दिन थालियो । यसले पार्टी र समाजमा बुर्जुवा विचार र संस्कृति हाबी रहेकाले यसलाई ध्वस्त पार्न क्रान्तिको आवश्यकता भएको डंका पिटाइयो । यसले बिस्तारै आँधी तुफान सिर्जना गर्‍यो । पार्टीको औपचारिक संरचना ध्वस्त भयो, किशोर–किशोरीहरू विद्यालय कलेज छाडेर सडकमा आए र देशभर एउटा उथलपुथलको स्थिति सिर्जना भयो । सहरका युवालाई गाउँ पठाएर त्यो अस्तव्यस्तालाई केही हदसम्म नियन्त्रण गरियो ।
यी उथलपुथल ल्याउने सांस्कृतिक क्रान्तिका मुख्यत: दुई कारण थिए : पहिलो त ग्रेट लिप फरवार्डको माओ अभियान पूरै असफलतामा सकिएको थियो । सन् १९५९ देखि १९६२ सम्म जारी यो अभियानले चीनमा दुई करोड मानिसको ज्यान जाने अनिकाल निम्त्याएको थियो भनिन्छ । यो अनिकाल थोरै प्राकृतिक कारणले र धेरै चाहिँ माओका नीतिका कारणले भएको मानिन्छ । पार्टीमा त्यतिवेला पनि सुधारवादी नेताले यसको विरोध गरेका थिए । यसै क्रममा उठेको विवादले वैचारिक संघर्षको रूप लिन थालेपछि ल्यु साओ ची र देङ सियाओ पिङको नेतृत्वमा भेट्रानहरूको एउटा पंक्ति फरक कित्तातिर धकेलिँदै गयो । माओ पार्टीमा कमजोर पर्न थाले । उनले आफ्नो शक्ति बचाउन र प्रभाव कायम राख्नकै लागि मासलाई आह्वान गर्ने नीति लिए । यसलाई कसैकसैले मास डेमोक्रेसीको रूपमा पनि व्याख्या गरेका छन् । उक्त अभियानका क्रममा राष्ट्रपति ल्यु साओचीको नेतृत्वमा बुर्जुवा हेडक्वार्टर रहेको भन्दै त्यहाँ बमबारी गर्न अपिल गरियो । मानिसहरू माओको समर्थनमा सडकमा निस्के र देशै उथलपुथल र अस्तव्यस्ततामा धकेलियो । करोडौँ मानिसले यस अभियानमा भाग लिए । चीनको परम्परागत सामाजिक सांस्कृतिक मूल्य तोडेर हरेकलाई स्वतन्त्र बनाउन, पुराना विभेदकारी सोचाइ र संस्कार भत्काउन यसले मद्दत पनि गर्‍यो ।
दोस्रो कारण भने वैचारिक थियो, विश्व कम्युनिस्ट आन्दोलनका विवादहरूको यसमा प्रभाव परेको थियो । ख्रुस्चेभ नेतृत्वमा आएपछि, खासगरी सन् १९५६ को २०औँ महाधिवेशनले शान्तिपूर्ण संक्रमणको बाटो लिएपछि सोभियत समाजवाद पतन भएको भन्ने माओको निष्कर्ष थियो । जब लेनिन र स्टालिनपछि रसियामा प्रतिक्रान्ति हुन्छ, त्यो पनि पार्टीभित्रैबाट शक्ति हत्याएर गरिन्छ, तब समाजवादको भविष्य अन्धकार छ भन्ने माओलाई लाग्यो । त्यसलाई बचाउन उनले निरन्तर क्रान्तिको सिद्धान्त अगाडि सारे र मासलाई क्रान्तिको बचाउमा आउन अपिल गरे । यसले पनि सांस्कृतिक क्रान्तिलाई ऊर्जा दियो । विश्वमा राजनीतिक बिरासतका रूपमा कम्युनिस्ट पार्टीहरूले सांस्कृतिक क्रान्तिका मूल्यलाई ग्रहण गरेका छन् भने यही दोस्रो कारणले गरेका छन् ।
नेपालका माओ समर्थक कम्युनिस्ट पार्टीहरूमा पहिले सबैले सांस्कृतिक क्रान्तिको समर्थन गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीले त्यसलाई आलोचना गरेपछि नेकपा मालेले पनि त्यसै गर्‍यो भने मोहनविक्रम सिंहसहित मशाल र मसाल समूहले उक्त क्रान्तिको निरन्तर समर्थन गरिरहे । नेपालमा माओवादी पार्टीको गठन, त्यसको नेतृत्वमा भएको सशस्त्र विद्रोहलाई विचारधारात्मक हिसाबले कतै न कतै यही सांस्कृतिक क्रान्तिले प्रभाव
पारेको थियो । अहिलेका वैद्य र विप्लवको केही राजनीतिक आधार छ भने यही सांस्कृतिक क्रान्तिमा छ । अर्थात् नेपाललाई यसले कतै न कतै प्रभावित गरिरहेको छ ।
केही वर्ष निरन्तर आलोचना गर्ने गरिएको सांस्कृतिक क्रान्ति र माओका अतिरिक्त राता विचारले चीनलाई भने अहिले पनि प्रभाव पारिरहेका छन् । समाजमा पुँजीवादको विकाससँगै हुर्केको मध्यमवर्गमा उदारवादको प्रभाव पनि बढ्दै छ । सांस्कृतिक क्रान्तिकालमा उत्पीडन र दमनमा परेकाहरूले त्यसको कडा आलोचना गर्ने गरेका छन् । उता एकथरी चिनियाँहरूले भने सांस्कृतिक क्रान्तिकाललाई आदर्श मानेर समाजवादका लागि यस्तो क्रान्ति आवश्यक रहेको भन्दै अहिलेको नेतृत्वले लिएको बाटोलाई पुँजीवादी बाटो भनेर आलोचना गर्ने गरेका छन् ।
११ मेको इन्टरनेसनल न्युयोर्क टाइम्सले अघिल्लो साता चीनमा भएको एउटा कन्सर्टको आयोजना र त्यसले निम्त्याएको विवादबारे समाचार टिप्पणी छापेको छ । ‘आफ्टर माओइस्ट म्युजिक एन्ड स्लोगन, हार्स लाइट अन अ चाइनिज सो’ शीर्षकमा बेइजिङबाट क्रिस बक्लेले पठाएको डिस्प्याचअनुसार मे २ मा अप्रत्यक्ष रूपमा सांस्कृतिक क्रान्तिको ५० वर्ष पुगेको अवसरमा तियानमेन स्क्वायरनजिक ग्रेट हल अफ् दि पिपुलमा एउटा सांगीतिक कन्सर्ट आयोजना गरिएको थियो । त्यसमा माओविचारमै क्रान्ति सम्भव छ, ‘पिपुल अफ दि वल्र्ड युनाइट एन्ड डिफिट दि युएस एग्रेसर्स एन्ड अल दियर रनिङ डग्स’ जस्ता नारा लेखिएका ब्यानर पनि झुन्ड्याइएका थिए, जुन नारा सांस्कृतिक क्रान्तिकालमा लगाइन्थे । चीनका सबै ५६ जना जातिका किशोरी र युवतीको सामूहिक समवेत स्वरमा गीत गुन्जाइएको सो कार्यक्रमबारे पछि निकै विवाद र आलोचना पनि भयो ।
आफ्नो राजनीतिक पतनअगाडिसम्म तत्कालीन पोलिटब्युरो सदस्य तथा चोङछिङका पार्टी प्रमुख बो सीलाई पनि आफ्ना प्रसिद्ध राता गीत कार्यक्रमका कारण चर्चामा थिए । उनले पनि अप्रत्यक्ष रूपमा माओको व्यक्तित्व र क्रान्तिकारी विचारको पुनस्र्थापनामा आफ्नो राजनीतिक भविष्य खोजेको देखिन्छ । यता अहिलेका राष्ट्रपति सी जिनपिङ आफैँ सांस्कृतिक क्रान्तिका पीडित हुन् । तर, उनी कतै न कतै समाजलाई उदारवादी विचारको हावाबाट मुक्त गर्दै अलि–अलि रातो पाइन नहाली नहुने सोचमा रहेका देखिन्छन् । पछिल्लो समय नवमाओवादी वामपन्थी आक्रामक रूपमा विचारधारात्मक बहसमा उत्रेका छन् । यसले चिनियाँ समाजमा पछिल्लो ३५ वर्षमा भएको पुँजीवादी विकासका अन्तरविरोधले समाजमा नयाँ अन्तरविरोध पैदा गराइदिएको र पार्टी नेतृत्व तथा पुँजीवादी विकासले पिँधतिर या सीमान्ततिर धकेलेको एउटा तप्का र साम्यवादीको अर्को हिस्साबीच कतै न कतै माओको ब्यानरप्रति आकर्षण रहेको बुझ्न सकिन्छ । केही समयदेखि पार्टी नेता सी उदारवादी पश्चिमा विचारको कडा प्रतिरोध गरिरहेका छन् र माओ र माक्र्सका विचारतिर पार्टीलाई ढल्काउन या दब्रे कोल्टोतिर फर्किन लागेको देखिँदै छ । यस्तो अवस्थामा अझै पनि नेपाल र विश्वमा समेत सांस्कृतिक क्रान्तिका प्रभावको चर्चा चल्नु र त्यसमाथि बहस गरिनु सान्दर्भिक नै रहनेछ ।

Loading...