प्रअ अाेलीलार्इ कारवाही गर्न दिपककाे माग

ललितपुर, १९ माघ । फुल्चाेकीमा हराएर ७ दिनपछि भेटिएका जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीमाथि कारवाही गर्न माग गरेका छन् । प्रअ अाेलीकै लापरबाहीका कारण घटना भएकाे बताउँदै जाेनका अभिभावकले याे माग गरेका हुन् ।

जोन तामाङ बुधबार फुलचोकीको जंगलमा झाेक्राएकाे अवस्थामा भेटिएका थिए । उनी भेटिनुभन्दा केही दिन पहिले नै प्रहरीले प्रधानाध्यापकलाई तारिखमा छाडिसकेको छ । जोनका ठूलोबुबा दीपक राईले जोन भेटिएकाले आफूहरु खुशी भए पनि प्रअलाई कारबाही हुने/नहुनेमा शंका रहेको बताए ।

उनको लापरबाही रहेकाले कारबाही हुनुपर्ने राईले बताए । प्रअ विद्यार्थीको संरक्षक हुनुपर्नेमा उल्टो खतरा ठाउँमा पु¥याएको आरोप लगाउँदै उनले लापरबाहीले गर्दा जोनले दुःख पाएका छन् । जोन ठीक भएपछि घटनाका विस्तृत विवरण थाहा हुनेछ, उनले भने– “लैजानु नै गल्ती हो, सजाय हुनुपर्छ ।”

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी प्रअलाई उसले गरेको गल्तीको सजाय हुनुपर्ने बताउँदै “खतरा हुने ठाउँमा एक्लै लामो गोरेटो बाटो हिँडाएर लैजानु नै गल्ती हो,”भने ।

शिक्षा नियमावलीमा प्रअको गल्तीका कारण विद्यार्थीले दुःख पाउँदा के सजाय हुने भन्ने किटान छैन, उनले भने–“जुनसुकै व्यवस्थाका आधारमा भए पनि उनलाई कारबाही हुनुपर्छ ।”

ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचाररत रहेका जोनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको छ । जोन अहिले सामान्य बोल्ने र खाने भएका छन् । आमाबाहेक अरुलाई भेटेका भने छैनन् ।

Loading...