बाजुरामा क्रुर घटना : दार्इ र भार्इकाे परिवारबीच खुकुरी हानाहान हुँदा दुबैकाे मृत्यु

बाजुरा, २८ असाेज । बाजुरामा एकै परिवारका दाजु–भाइको परिवार भित्रै खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। खुकुरी हानाहानमा संलग्न अर्का एक गम्भीर घाइते छन्। बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानीमा शनिबार बिहान दाजुभाइको परिवारबीच खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो। कालापानीका मोहन गिरी र उनका सहोदर भाइ गोरख गिरीको परिवारबीच जग्गा विवादको बिषयलाई लिएर खुकुरी हनाहान भएको बाजुराका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टले जानकारी दिए।

प्रहरी निरीक्षक भट्टका अनुसार मृत्यु हुनेमा मोहन गिरीका २७ वर्षीय छोरा नौले गिरी र ३२ वर्षीय छोरा अर्जुन गिरी रहेका छन्। नौलेको घट्नास्थलमै र अर्जुनको उपचारका क्रममा अछामस्थित बयलपाटा अस्पतालका ज्यान गएको हो। मोहन गिरीका अर्का छोरा २१ वर्षीय नरेश गिरी गम्भीर घाइते छन्। उनको बाजुरास्थित फालासैनमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोहन गिरीलाई पनि सामान्य चोट लागेको छ

मृतक नौले गिरीको शव प्रहरीले गोरख गिरीको घरमा फेला पारेको हो। दुवै परिवारका बीचमा शुक्रबार बिहान ७ बजे खुकरी हानाहान भएको थियो। ‘दुवै परिवारबीच जग्गा विषयमा लामो समयदेखी विवाद रहदै आएको देखियो’, निमित्त प्रहरी प्रमुख भट्टले भने,‘आज बिहान त यत्रो ठूलो घटना हुन गयो’।

प्रहरीका अनुसार घटनास्थलमा खुकुरी, खुडा र जीआई पाइप प्रहार भएको छ। ती सबै प्रहरीले घट्नास्थलबाटै बरामद गरेको हो। घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले ५० वर्षीय गोरख गिरी, उनका २५ वर्षीय छोरा गणेश गिरी, २० वर्षीय योगेन्द्र गिरी र १६ वर्षीय दिनेश गिरीलाईे नियन्त्रणमा लिएको छ।

तीन जनालाई गाउँमै प्रहरीले नियन्त्रणमा लिएको हो भने गणेश गिरीलाई सदरमुकामबाट प्रहरीले पक्राउ गरेको हो। घटना लगत्तै फरार रहेका गणेशलाई प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान अन्र्तगत मुद्दा चलाएर कारबाही अघि बढाएको प्रहरीले बताएको छ। 

Loading...