गोविन्द केसीको मुटुमा देखियो यस्तो गम्भिर समस्या

काठमाडौं ।

अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताए पनि अघि बढ्न सकेको छैन । 

केसीलाई अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाण्डु ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्काका कारण संवाद अघि नबढेको आरोप लगाएका छन् ।

सरकारसँग संवाद गर्न डा. केसी पक्षले बनाएको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले सरकारी पक्षबाट वार्ताका लागि कुनै प्रयास नभएको बताए । उनले सरकार पक्षले फोनसमेत उठाउन छाडेको गुनासो गरे ।

शिक्षा सचिव खगराज बराल भने वार्ताका लागि सरकारले देखाएको तत्परता केसी पक्षको अडानका कारण प्रभावित भएको बताउँछन् । उनका अनुसार विधेयक फिर्ता नभई वार्तामा नबस्ने केसी पक्षको अडानका कारण संवादहीनताको अवस्था सिर्जना भएको हो ।

यसैबीच, डा. केसीले उपचार गर्न अस्वीकार गरेका छन् । बिहीबार जुम्लामा सरकारले ज्यादति गरेको भन्दै उनले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका हुन् ।

उनको मुटुको चालमा गम्भीर गढबढी देखिएको छ । तर, उनको अडानकाका कारण इसिजी गरेर मुटुको अवस्था बारे जानकारी लिन नसकिएको उपचारमा संग्लग्न चिकित्सकहरूले बताएका छन् ।

रगतमा घटेको पोटासियम, म्याग्नेजियम, क्याल्सियम लगायतका इलेक्ट्रोलाइट्सको अवस्थासमेत थाहा नभएको चिकित्सकहरूले बताएका छन् । चिकित्सकले सामान्य रक्तचाप परीक्षण पनि गर्न पनि अस्वीकार गरेका छन् ।

काठमाण्डु आएकै दिन मुटुको अवस्था बारे जाँच गरी डा।केसीलार्इ सिसियुमा लाने तयारी थियो तर जाँच गर्न नै अस्वीकार गरेका कारण केसीका शरीर भित्र के कस्ता परिवर्तन भइरहेका छन्, यसै भन्न सकिने अवस्था नरहेको चिकित्सकहरू बताउँछन् ।

२०७५ साउन ५ मा प्रकाशित ।

Loading...