काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा युवा पर्यटन व्यवसायी रमेश घिमिरेले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
विगत दुई दशकदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय घिमिरेले आगामी साउन २९ गते हुन लागेको नाट्टाको निर्वाचनमा जिस्वाँ तुलाधर समूहबाट सचिव पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
सचिवका उम्मेदवार घिमिरेले नाट्टाका सदस्य कम्पनीको हक हितको पक्षमा आफूले काम गर्ने बताए । उनले नाट्टालाई समावेशी, पारदर्शी, उत्तरदायी, सदस्य केन्द्रीत र शशक्त बनाउने प्रतिवद्धता जनाएका छन् ।
घिमिरेले आफ्नो अनुभवलाई संस्थागत सुधार र पर्यटन क्षेत्रको वृहत्तर हितमा लगाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
को हुन् सचिव पदका उम्मेदवार घिमिरे ?
खोटाङ जिल्लाको रूपाकोट मझुवागढी नगरपालिका– १४ का स्थायी बासिन्दा घिमिरे दुई दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् ।
अध्ययनको सिलसिलामा सन् २००६ मा काठमाडौँ आएका घिमिरेले अध्ययनसँगै पर्यटन पेशालाई अगाँले । सुरुमा अरुको ट्राभल तथा ट्रेकिङ कम्पनीमा जागिर खाएर अनुभव लिएका घिमिरेले सन् २०१२ देखि आफ्नै कम्पनी ‘वेल नेपाल ट्राभल एण्ड ट्रेक्स’ सञ्चालन गरी दर्जनौँ युवालाई रोजगारी प्रदान गर्दै आएकक छन् ।
नेपालको पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका घिमिरेले काठमाडौँको ठमेलमा ‘टेम्पल स्वीट काठमाडौँ प्रालि’ (होटल) र टेम्पल हस्पिटालिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि सञ्चालन गरी विभिन्न व्यवसायलाई अगाडि बढाइराखेका छन् ।
पर्यटन प्रवद्र्धनको सिलसिलामा विश्वका ६० भन्दा बढी देशको भ्रमण गरिसकेका घिमिरेसँग अन्तर्राष्ट्रिय पर्यटन बजारको राम्रो अनुभव रहेको छ । विदेशी अनुभवलाई नेपालको पर्यटन बजारमा प्रस्तुत गर्ने आफ्नो योजना रहेको उनी बताउँछन् ।







