एमाले र माओवादी केन्द्रको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो । अझै पनि माकेमा कम्युनिस्टको केही भ्रम थियो । त्यो नाङ्गो भएको छ । बिष्णुमतिको फोहर र बाग्मतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण । भेंडा भेंडातिरको बथानमा हुन्छन् । गाई गाईको बथानमा । यो प्राकृतिक नियम हो । राजनीति क्षेत्रमा पनि क्रान्तिकारीहरु एकातिर हुन्छन् । संशोधनवादीहरु अर्कोतिर ।
हर्ष, उमङ्ग, क्रोध, पीडा, निराशा र अभिलाशा मानव जातिका प्राकृतिक स्वभाव र मूल्यमान्यता हुन । मानिस सरल रेखामा होइन, बक्ररेखाबाट हिडेको हुन्छ । कहिले खुसी त कहिले दुःख, फेरि पनि खुसी जीवनका अनुभूति हुन्छन् । २०५२ सालबाट ने.क.पा (माओवादी)बाट सञ्चालित जनयुद्धले पनि सरल रेखाबाट नगएर अप एण्ड डाउन हुँदै देशको ८० प्रतिशत भूभाग ढाकेको हो । तीन महिना टिक्दैन भनेको जनयुद्ध बनमा लागेको डढेलोजस्तै देशैभरि फैलिएको हो । पञ्चायत कालमा कुइनाले हान्दा पहरा थर्कदैन भनेर सबभन्दा पहिला बापन्थी भनिनेले भन्ने गर्थे । तिनीहरुले राजाको गुणगान गाउन न्वारानदेखिको बल लगाएकै हुन् । किलो सेरा टु र सर्च एण्ड किल आदि प्रकृया अपनाएर बनमा घाँस दाउरा काट्नेलाई पनि छोडेन प्रतिकृयावादी सरकारले । दियाउलीमा गएका नागरिकहरु पनि घर फर्कन पाएनन् । राजनैतिक लडाइँ लड्नेलाई आतङ्ककारी घोषणा गरी क्रूर तानाशाही बन्यो सरकार । झोलाभरि टाउका लिएर आऊ झोलाभरि पैसा लिएर जाउ भनी एउटा टाउकाको ५० लाख मोलतोल गरेर राणा शासन भन्दा एक कदम अगाडि बढ्यो सरकार ।
आज स्थिति बिल्कूल उल्टो भएको छ । टाउकाको मूल्य तोकने चाहिँ सहयात्री बनेका छन् भने जनयुद्धका सहयात्री बनेर कमाण्डरको बचाउ गर्ने चाहिँ दुश्मन बनेका छन् । छुट्टै वर्ग बनेको छ । संशोधनवाद बाजा बजाएर आउदैन भन्छन् । कम्युनिस्ट पार्टीको नाम देखाएर रुसी नेता यल्तसीनले जस्तै कम्युनिस्ट पार्टीलाई समाप्त पार्न नेपालमा संसदवादी नेताहरु लागिपरेका छन् । फ्रान्समा मिलेराँले, जर्मनमा सिदेमानले संसदीय व्यवस्था सामु आत्मसमर्पण गरे भने चीनमा तुस्यू र भारतमा ज्योतिबसुले परम्परावादी संसदीय व्यवस्था सामु आत्मसमर्पण गरे । नेपालमा भन्ने हो भने २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले धेरै आँधीबेहरीको सामना गर्दै अगाडि बढेको अवस्था छ । केशरजंग रायमाझी जस्तो पार्टीको महामन्त्री भएको मानिस राजतन्त्रको जूठोपूरो खान दरवार भित्र पसे । त्यसपछि नेपालमा कम्युनिस्टको विकास हुँदैजाँदा महान जनयुद्धको उत्कर्षको समयमा भारतमा १२ बुँदे सम्झौता गरियो । यसै सम्झौताबाट प्रचण्ड र बाबुरामको पहलमा संशोधनवाद घुस्यो नेपाली कम्युनिस्ट आन्दोलनमा । यो चोर ढोकाबाट भित्र पस्यो । लडाइँ लडदा जनताको धेरै क्षति हुन्छ भनेर अब शान्तिपूर्ण आन्दोलन मार्फत नयाँ जनवाद आउँछ भनेर डंका पिटियो । त्यही अनुसार २०६३ मा विस्तृत शान्ति सम्झौता गरी जनताको रगतबाट साटेर ल्याएको हतियार प्रतिकृयावादी सरकारलाई त्वम शरणम् भनी बुझाइयो । पार्टीमा दुई लाइन संघर्ष चल्यो । क. मोहन बैद्य किरण र क.नेत्रबिक्रम चन्द विप्लपको नेतृत्वमा बिद्रोह चल्यो । ने.क पा.माओवादी छुट्टै पार्टी बन्यो । यसले निरन्तर संघर्ष अगाडि बढाएको बुझिन्छ । तीन महिने अभियान लिएर नेकपाले प्रशिक्षण र भण्डाफोर कार्यक्रम चलाइरहेको अवस्था छ । यसै सन्दर्भमा हिजो फागुन ४ गते बिराटनगरमा एउटा कालो इतिहास जोडिएको छ ।
कहिँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तै एमाले नेता तथा प्रधानमन्त्री केपी ओलीले नेकपालाई उत्तेजित पारेर देशको शान्ति खलबल्याउने षड्यन्त्र गरेका छन् । देशलाई फसाउने र जनता तर्साउने नाइकेका रुपमा उनी उपस्थित त भएका छैनन् ? दलालहरुको रक्षाका लागि क्रान्तिप्रति प्रहार गरेका त होइनन् ? भन्ने जनधारणा छ । ठीक छ राज्यले आफ्नो सत्ताको सुरक्षाको लागि सुरक्षाकर्मी लगाउन सक्छ तर निशस्त्र शान्तिपूर्ण तरिकाले हिँडेकालाई विनाकारण पक्राउ गर्न सक्दैन । मानव अधिकारको १९४८ को विश्वव्यापी घोषणाले जनतामा विद्रोह गर्न पाउने अधिकार दिएको छ । यस कुरालाई यसै २०७२ को संविधानमा पनि उल्लेख गरिएको छ । तर, उनले एकपटक फेरि संविधानबाट प्राप्त जनताको सूचनाको हक र शान्तिपूर्ण तरिकाले सभा गोष्ठी सञ्चालन गर्ने अधिकार खोसेका छन् । उनी प्र.म भएको तीनै दिनमा बिराटनगरमा हुन गइरहेको नेकपाको निकट मानिने युवा तथा स्वयंसेवक दस्ताको सम्मेलनलाई बिथोल्ने दुस्प्रयास गरेका छन् । स्थायी समिति सदस्य क. सुदर्शन सहित करीब दुई सय जनालाई गिरफ्तार गरेर फेरि पञ्चायती कालरात्रीलाई स्मरण गराएका छन् । सभास्थलमा आउदै गरेका करीब १५/१६ वटागाडी बाटैमा रोकेर ठूलो संख्यामा गिरफ्तार गरियो । यसको विरोधमा झापा मोरङ बिराटनगर आदि दर्जनौ ठाउँमा नाराजुलुश भए । साथै दिउसो केही अबेर गरी सुनसरीमा युवाहरुको राष्ट्रिय सम्मेलन भने सम्पन्न भएरै छाड्यो ।
यसले केपी ओली सरकारको प्रथम गासमै ढुङ्गा लागेको छ ।
दिनको संकेत बिहानले गर्छ भनेजस्तै ओली सरकारले जनतामाथि दमन गर्ने देखिएको छ । यसबाट जनता तर्सिएको अवस्था छ । उनले मधेशमा पनि यस्तै दमन गरी जनता मारेर मधेशी जनतालाई उत्तेजित पारे । त्यसबाट प्रदेश नं. २ को निर्वाचनमा आफ्नै पार्टीलाई घाटा खुवाए । तर, उनको खोक्रो राष्ट्रवाद पछिल्लो समय सुष्मा स्वराज आएपछि उदाङगो भयो । प्रधानमन्त्रीमा पदासिन नहुँदै भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग सोल्टी होटलमा भएको वन टु वन वार्ता अझै गोप्य राखिएको छ । यसैलाई भन्छन् बेमौसमी बाजा । पहिलो भेट बहालवाला प्रम शेरबहादुर देउवासँग नभएर भावी प्रमसँग हुनु कुटनैतिक मर्यादा बिपरित भएको राजनैतिक बृतमा चर्चाको विषय बनेको छ । जिस्तारवाद निकै सलबलाएको छ अहिले । विस्तारवादले पहिले त प्रचण्डलाई उचालेको हो । अहिले भने प्रचण्डलाई बिसाएर प्रधानमन्त्री केपी ओलीलाई धेरै माथि उचालेको छ ।
त्यसैगरी भारतीय खुफिया संस्था रअले प्रचण्डलाई निवस्त्र पारेको छ । यहाँसम्म कि फागुन ७ गते गरिएको सम्झौतामा जवजलाई शिरोधार्य गरी माओवादको अपराधीकरण गरेका छन् । माओवादको नाममा म पनि राखिएको छैन पार्टी एकीकरणको सहमतिले अलिकति बाँकी रहेको कम्युनिस्टको भ्रम पनि साफ गरिदिएको छ । भन्नलाई त जे भने नि हुन्छ । सबभन्दा ठूलो काम र व्यवहार हो । कम्युनिस्ट सिद्धान्त, नीति र न्यूनतम आदर्शलाई तिलाञ्जली दिइसकेपछि कम्युनिस्ट भन्ने अब कहीं कतै पनि ठाउँ रहेको छैन । तर पनि माकेमा धेरैजसो नेता र कार्यकर्ता क्रान्तिमार्फत जनयुद्धको आदर्श र सहिदहरुको सपना साकार पार्ने पक्षमा छन् ।
हनुमानहरु भने आफ्नो स्वार्थपूर्तिका लागि शीर्ष नेताहरुको चक्कर लगाएकै हुन्छन् । एमालेमा पनि जुझारु क्रान्तिकारीहरु केही रुपमा पाउन सकिन्छ । हाम्रो चाहना हो देशमा स्थिरता, विकास र समृद्धि होस् । तर, परिणाम यसको उल्टो देखापरेको छ । मुलुक दलाल पुँजीवादमा फसेको छ । अब पार्टीभन्दा माथि उभिएर क्रान्तिकारी र परिवर्तन चाहनेहरु एक ढिक्का हुनुपर्दछ । पूर्ण लोकतन्त्र भनेको फासीवाद हो वा स्वतन्तता ? के जंगे पिलर हराएको छ भन्न पाइदैन ? के राजस्व नतिर्र्नेेलाई राजस्व छली भन्न पाइदैन । कहाँको नियम हो यो देश लुटियो भन्दा गिरफ्तारी दिनुपर्छ । यो त धेरै अचाक्ली भयो । यसैले त सतिले सरापेको देश भन्दा होलान् मानिसहरु । अहिले संसदवादीहरु प्रचण्डको ढाडमा टेकेर क्रान्तिकारीहरुको शिरमा हिर्काउदैछन् ।
मुखले भनेर मात्र समाजवाद हुदैन । भन्न त महेन्द्रले पनि समाजवाद भन्दथे । गिरिजाले पनि समाजवादकै नाम भजाएका हुन । खै समाजवाद ? समाजवादको मान्यता के हो ? मापदण्ड के हो ? न्यूनतम आधारभूत कुरा के के हुन । शासन फासिवाद भन्नलाई समाजवाद ? यो त दलालहरुले कुम्ल्याउने समाजवाद मात्र हो । समाजवादमा त योग्यतानुसार काम, काम अनुसार माम हुन्छ । ग्यारेण्टी साथ सबैलाई रोजगारी हुन्छ । शिक्षा स्वास्थ्य निःशुल्क हुन्छ । कालोबजारी भ्रष्टाचारी र बलत्कारीहरुको समाजमा हैकम हुँदैन । भ्रष्ट मान्छेहरुले सांसद बन्ने मौका पाएका हुँदैनन् । साम्यवादको कुरा गर्ने हो भने योग्यता अनुसार काम आवश्यकतानुसार माम हुन्छ । तर, यो अलि परैको कुरा छ ।
मानव अधिकारकर्मी र पत्रकारको नाताले यस पंक्तिकारले भन्न खोजेको कुरा के भने स्वतन्त्रतासहित मौलिक अधिकारको बाँध थुनिदिने हो भने परिणाम के होला ? अहिले नै शान्तिपूर्ण अवस्थामा बिद्रोहीलाई जिस्काउने र उत्तेजित पार्ने हो भने त्यसको के असर पर्छ । देशमा शान्ति होस् भन्ने सबैको अपेक्षा हुन्छ । विना कसुर गिरफ्तार गरिएका नेकपाका सबै नेता कार्यकर्ताहरुको विनाशर्त रिहा गरिनुपर्छ । राज्य आफैले द्वन्द्वलाई बढाउनु हुँदैन । यदि यसै गरियो भने ओली युद्ध अपराधी ठहर्नेछन् ।