डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बोलेरो जिप बिहान करिब ३ बजे सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार गरेको थियो।
घाइते पाँचै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।







