ठमेल पर्यटन विकास परिषदमा राजुमान डङ्गोलको प्यानल घोषणा, महासचिवमा कँडेल

काठमाडौ । ठमेल पर्यटन विकास परिषद निर्वाचनका लागि राजुमान डङ्गोल नेतृत्वको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ। परिषद्को वार्षिक साधारणसभा तथा निर्वाचन असार २७ गते नयाँबजारस्थित मल्टी भेन्युमा हुँदैछ।

अध्यक्ष उम्मेदवार डङ्गोल परिषद्मा एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उम्मेदवार हुन्। उनले ठमेललाई सुरक्षित, व्यवस्थित र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

डङ्गोलको प्यानलबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावा तामाङ, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी (दीपक), महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल र कोषाध्यक्षमा किन्चुल्हामु भुटिया श्रेष्ठ उम्मेदवार बनेका छन्।

सदस्य पदमा सुरेन्द्र डङ्गोल, सानुकाजी महर्जन, बालकृष्ण खनाल, रोशन प्रधान श्रेष्ठ, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाई र चन्द्रा तामाङ प्रतिस्पर्धामा छन्।

महासचिवका उम्मेदवार पशुपति कँडेल होटल तथा अपार्टमेन्ट व्यवसायसँग आबद्ध छन् भने कोषाध्यक्षका उम्मेदवार श्रेष्ठ पर्यटन तथा आतिथ्य क्षेत्रमा अनुभव बटुलेकी व्यवसायी हुन्।

डङ्गोलले आफ्नो घोषणापत्रमा ठमेललाई चौबीसै घण्टा सुरक्षित पर्यटन क्षेत्र बनाउने, सरसफाइ र सौन्दर्यीकरणलाई प्राथमिकता दिने, डिजिटल प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय ब्रान्डिङलाई प्रभावकारी बनाउने, व्यवसायीका समस्या समाधानका लागि सरकारका तीनै तहसँग समन्वय गर्ने तथा ठमेललाई सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन्।

यस्तै, पर्यटकका लागि डिजिटल नक्सा र सूचना प्रणाली विकास, ‘हरित ठमेल’ अभियान सञ्चालन, प्लास्टिक प्रयोग न्यूनीकरण तथा परिषद्का आर्थिक गतिविधिलाई पारदर्शी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

डङ्गोलले सामूहिक नेतृत्व र सहकार्यमार्फत ठमेलको प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरेका छन्।