शे–फोक्सुण्डोमा तालिम

डोल्पा । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८, रिग्मो गाउँमा पर्यटकलाई दिइने सेवाको गुणस्तर बढाउन होटल ब्यवसायी र होमस्टे सञ्चालकलाई तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा गाउँपालिकाले तालिम सम्पन्न गरेको हो ।

शे–तालिममा आतिथ्य, सरसफाइ तथा सांस्कृतिक सेवा क्षमता अभिवृद्धि गर्ने उदेश्यले सैद्धान्तिक र व्यवहारिक सीपको प्रशिक्षण दिएको होमस्टे महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोलाले बताए ।

प्रमुख प्रशिक्षकका रूपमा तालिम प्रदान गरेका बास्तोलाका अनुसार, तालिममा आतिथ्य सेवा, सरसफाइ तथा स्वच्छता, खाद्य सुरक्षा, कोठा व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा अभिमुखीकरण गरिएको छ ।

सांस्कृतिक सेवा, स्थानीय परिकार प्रवर्द्धन, अतिथि व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाह सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो । त्यसैगरी होमस्टे महासंघ नेपालका सदस्य राजेश्वर लामिछानेले कार्यक्रमलाई प्रभावकारी सहजीकरण गर्दै तालिमलाई थप उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उपस्थित सबैले यस्ता सीपमूलक तालिमले स्थानीय पर्यटनको गुणस्तर वृद्धि, रोजगारी सिर्जना तथा समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गरी शे–फोक्सुण्डो क्षेत्रका होटल, लज तथा होमस्टेहरूको सेवा स्तरलाई राष्ट्रिय मापदण्ड अनुसार विकास गर्दै दिगो पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी स्वास्थ्य संस्थाका कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, आमा समूह, पर्यटन व्यवसायी तथा रिग्मो गाउँका स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा शे–फोक्सुण्डो गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय निकुञ्जका कर्मचारीको सहभागिता रहेको थियो ।

असार १५ गतेदेखि २१ गतेसम्म त्यस्तो तालिममा होटल, लज तथा होमस्टे सञ्चालक र पर्यटन व्यवसायी गरी ३३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।