याैन धन्दामा सम्लग्न हाेटल सञ्चालकसहित तीन पक्राउ

दाेलखा, ३१ असार । दोलखा सदरमुकाम स्थित चरिकोटको एक होटलमा विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोट स्थित बसपार्कमा ‘तहल्का’ नामको होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका-३ जफे स्थायी घर भएकी तारा काफ्लेले विगत ६ महिनादेखी निरन्तर यौन धन्दा चलाएको प्रशस्त प्रमाणका आधारमा उनी सहित अन्य २ जनालाई पक्राउ गरि कार्वाही प्रकृया अगाडी बढाइएको छ ।

उनले अनेकन बहानामा एक १७ वर्षीया किशोरीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख कार्कीले भने, ‘उनले होटलमा कामदारको रुपमा राखेकी किशोरीलाई विगत ६ महिनादेखि यौन व्यवसायमा लगाएकी थिइन् । प्रहरीले बिशेष सूराकीका आधारमा केही दिन देखि उक्त होटल निग्रानिमा राखेको थियो । मंगलवार होटलमा छापा मार्दा स-प्रमाण उनीहरुलाई नियन्त्रणमा लिएको हो ।’

प्रहरीले जवरजस्ति यौन धन्दामा लगाईएकी १७ वर्षिया पीडित किशोरी र बोल्न नसक्ने २५ वर्षिया एक अपाङ्ग युवतीलाई पनि उद्धार गरेको छ ।

सञ्चालक काफ्ले सहित पक्राउ पर्नेमा, तामाकोसी गाउँपालिका-३ जफेका १९ बर्षीय सन्तोष भुजेल र सोही स्थानका १८ बर्षिय सुरोज पोखरेल रहेका छन् । पक्राउ पर्ने दुई युवाहरु पोखरेल र भुजेललाई यौन धन्दा गर्दै गर्दा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको दोलखा प्रहरीको जनाएको छ ।

Loading...