एजेन्सी । रूसले युक्रेनको राजधानी किभमा भीषण हमला गरेको छ।
बिहीबार बिहानै रूसले ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत युक्रेनी राजधानी लगायतका क्षेत्रमा हमला गर्दा कम्तिमा एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आक्रमणमा ११ जना घाइते भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
रुसले सुरूमा ड्रोन हमला गरेको थियो। त्यसपछि ब्यालिस्टिक मिसाइल प्रहार गर्दा शहरका विभिन्न स्थानमा शक्तिशाली बिस्फोटका आवाज सुनिएका थिए। हमलाबाट आवासीय भवनहरुमा आगलागी भएको तथा एउटा बहुतले भवनमा क्षति पुगेको अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ।
रूसले आक्रमण गर्नुअघि नै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नागरिकहरूलाई सचेत गराएका थिए। उनले रूसले ठूलो स्तरको आक्रमणको तयारी गरेको भन्ने गुप्तचर सूचना प्राप्त भएको र साइरनलाई गम्भीरतापूर्वक लिएर सतर्कता अपनाउन आग्रह गरेका थिए।
न्युयोर्क टाइम्सका अनुसार बुधबार साँझदेखि नै युक्रेनी सहरमा साइरन बज्न थालेको थियो। त्यसपछि नागरिकहरू स्लिपिङ ब्याग, पाल र घरपालुवा जनावरहरू लिएर मेट्रो स्टेसनहरूमा आश्रय लिन पुगेका थिए।
उनीहरू सम्भावित आक्रमणको त्रासमा भूमिगत आश्रयस्थलमै बिताएको भनेर युक्रेनी अधिकारीहरूलाई उद्धृत गरी टाइम्सले लेखेको छ।
किभका मेयर भिताली क्लिच्कोका अनुसार रुसले एकैसाथ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको थियो। त्यसबाट विभिन्न आवासीय भवनमा क्षति पुगेको, आगलागी भएको र कम्तीमा ११ जना घाइते भई अस्पताल भर्ना भएका छन्।
क्लिच्कोले नौतले एउटा आवासीय भवनको केही भाग भत्किएपछि मानिसहरू भवनभित्रै फसेको जानकारी दिँदै उद्धारकर्मीहरू उनीहरूको उद्धारमा खटिएको बताएका छन्।
उनले एम्बुलेन्स सेवाको एउटा केन्द्रमा पनि आक्रमण हुँदा स्वास्थ्यकर्मीहरू घाइते भएको जानकारी दिएका छन्। आक्रमणका क्रममा शहरभर लगातार विस्फोटको आवाज सुनिएका थिए।
सुरुमा ड्रोन आक्रमण भएपछि युक्रेनी हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो। त्यसपछि शक्तिशाली मिसाइल विस्फोटहरूले शहरलाई हल्लाएको थियो। होटलको छत, आवासीय भवन तथा अन्य क्षेत्रमा आगलागी भएको अधिकारीहरूले बताएका छन्।
यो आक्रमण युक्रेनले पछिल्ला साताहरूमा रुसविरुद्ध लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएपछि भएको हो। जेलेन्स्कीले रुसको ऊर्जा पूर्वाधारलाई लक्ष्य गरी यस्ता आक्रमणलाई मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिने प्रमुख रणनीतिका रूपमा प्रस्तुत गर्दै आएका छन्।
गत साता मात्रै एकै रात रुसले आफ्ना १२ वटा क्षेत्रमा युक्रेनले प्रहार गरेका ६६० वटा ड्रोन खसालेको दाबी गरेको थियो। सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयताकै यो सबैभन्दा ठूलो युक्रेनी ड्रोन आक्रमणमध्ये एक मानिएको छ।
यसअघि जुन महिनाको सुरुतिर पनि रुसले किएभको केन्द्र क्षेत्रमा आक्रमण गर्दा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध किभ पेचेर्स्क लाव्रा बिहार परिसरमा आगलागी भएको थियो।
रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले पहल गरिरहेको भए पनि फेब्रुअरी २८ मा अमेरिका आफै इरानसँग युद्धमा होमिएपछि पहल रोकिएको छ।
अमेरिका अहिले आफै इरानसँग युद्धविराम र शान्ति सम्झौताका लागि वार्तामा छ। त्यसकारण उसले रूस-युक्रेन युद्ध अन्त्यका लागि भूमिका खेल्न पाएको छैन।







