चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया झनै लम्बिने भएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको समय बिहान ९ बजेदेखि हुने प्रतिक्रिया दिएका थिए । तर, हालसम्म उम्मेदवारको प्रारम्भिक नामावली पनि सार्वजनिक गरिएको छैन ।
निर्वाचन आयोगले बिहान साढे १० बजे प्रारम्भिक नामावली निकाल्ने जानकारी गराएको थियो। उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेसँगै निर्वाचन आयोगले उम्मेदवारको फोटो सहितको अन्तिम सूची विद्युतीय मेसिनमा अपलोड गर्नका लागि उपलब्ध गराउनु पर्ने हुन्छ।
निर्वाचन आयोगका अनुसार करिब चार सय उम्मेदवारको मनोनयन दर्ता गरेका छन्।
आयोगले निश्चित संख्या भने हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन। सूची प्राप्त भइसकेपछि मेसिनमा अपलोड गर्न ४ देखि ५ घण्टा लाग्ने राम लक्ष्मण ई भोटिङ मेसिनका संस्थापक राम रिमालले जानकारी गराए।
रिमालका अनुसार एक व्यक्तिले मतदान गर्न १५ देखि १८ मिनेट लाग्नेछ । हालसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन नसक्दा रास्वपा महाधिवेशन अवधि थप लम्बिने भएको छ।
मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि एक दिन लम्बिइसकेको छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान भएपछि दोस्रो चरणमा पदाधिकारीका लागि मतदान गर्नुपर्ने हुन्छ।







