विश्वप्रकाशले ५ शीर्ष नेतालाई पठाए ध्यानाकर्षण पत्र, चिया बैठक गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानमा संवादहीनता देखिएको भन्दै पार्टीका पाँच जना अग्रज नेताहरूलाई ध्यानाकर्षण पत्र पठाएको बताएका छन् ।

नेता शर्माले शनिबार डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको ७ बुँदे लिखित प्रस्तावमाथि छलफल अगाडि बढाउन माग गरेका हुन्।

शर्माले गत जेठ १६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष ७ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए। तर, उक्त प्रस्तावमाथि एक सातासम्म पनि कुनै छलफल नभएपछि जेठ २२ गते खड्कालाई भेटेरै धारणा बनाउन ध्यानाकर्षण गराएको शर्माले उल्लेख गरेका छन्।

छलफलको निरन्तर पहल गर्दागर्दै पनि नेता खड्काले जेठ २४ गते कुनै संवाद नभइरहेको सन्देश जाने गरी फेसबुक स्टाटस लेखेपछि आफू अचम्मित भएको शर्माको भनाइ छ।

त्यसपछि जेठ २६ गते मंगलबार उनले अग्रज नेताहरूलाई जानकारी दिन र छलफल सहज होस् भन्ने अपेक्षासहित ती ७ बुँदा ह्वाट्सएपमार्फत पठाएका थिए।

पार्टीभित्र विवाद उत्पन्न हुँदा त्यसलाई हल गर्ने लोकतान्त्रिक प्रक्रिया भनेकै भेट, संवाद र लिखित प्रस्ताव भएको शर्माले स्मरण गराएका छन्।

सहमति निर्माण गर्ने संस्कारअनुसार अन्य व्यस्तताबाट थोरै समय निकालेर आवेगबिना प्रस्तावको अध्ययन गर्न उनले शीर्ष नेताहरूलाई आग्रह गरेका छन्।

संस्थापन इतर समूहका एक नेताले विश्वप्रकाश शर्माले पठाएको ध्यानाकर्षण पत्र तथा ७ बुँदे प्रस्ताव प्राप्त भएको पुष्टि गरेका छन्।