काठमाडौं । ८ विभिन्न महिला संघ संगठनहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार उनले दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राजिनामा माग गरिएको हो ।
८ संघसंगठनले सोमबार संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले संसदमा दिएको “भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको रहेछ ” भन्ने अभिव्यक्ति राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रहित विरुद्ध रहेको बताइएको छ ।
विज्ञप्तिमा नालापानी किल्लामा पानी समेत नपिई लडेका महिला योद्धाहरुको स्मरण गर्दै प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति अस्वीकार्य रहेको र राजिनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
उक्त विज्ञप्तिमा अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संगठन, जनवादी महिला मञ्च नेपाल, क्रान्तिकारी महिला संगठन नेपाल लगायतका ८ महिला संगठनका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।








