
भक्तपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले युवालाई लक्षित गर्दै बिना धितो सहुलियतपूर्ण ऋण कार्यक्रम ल्याउन लागेको बताएका छन्।
भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बुधबार आयोजित ‘ग्रान्ड ब्यूटी एक्स्पो’ उद्घाटन गर्दै उनले आगामी बजेटलाई युवामैत्री बनाइने जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसाय गर्न चाहने युवालाई केवल २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ।
“सीप र क्षमताका आधारमा युवालाई अवसर दिनुपर्छ भन्ने हाम्रो मान्यता हो,” मन्त्री थापाले भने, “शैक्षिक प्रमाणपत्र वा सीपमूलक तालिमको प्रमाणका आधारमा युवाले न्यूनतम १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्दैछौं।”
उनले प्रदेश सरकारले बेरोजगार युवालाई उद्यमशीलतासँग जोड्ने गरी सीपमूलक तालिम र सहुलियतपूर्ण वित्तीय पहुँचलाई प्राथमिकतामा राखेको बताए।
सबै प्रदेश अस्पताल अब डिजिटलाइज्ड
मन्त्री थापाले बागमती प्रदेशका अस्पताललाई प्रविधिमैत्री बनाउने अभियान तीव्र रूपमा अघि बढाइएको पनि बताए। स्वास्थ्य मन्त्रालयले हाल सिन्धुली, चौतारा, धादिङ र बकुलहर अस्पतालबाट ‘पेपरलेस सेवा’ परीक्षण सुरु गरिसकेको जानकारी दिँदै आगामी आर्थिक वर्षदेखि प्रदेशका १३ वटै अस्पतालमा डिजिटल प्रणाली लागू गरिने घोषणा गरे।
उनका अनुसार पेपरलेस प्रणाली लागू भएपछि बिरामीको विवरण सुरक्षित रहने, रिपोर्ट सजिलै खोज्न सकिने र सेवा प्रवाह थप छिटो तथा व्यवस्थित बन्नेछ।

प्रदेशकै अस्पतालमा नर्सिङ पढाइ सुरु हुने
मन्त्री थापाले भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली र बकुलहर अस्पतालमा प्रदेश सरकारकै पहलमा नर्सिङ शिक्षाको पढाइ सुरु गरिने खुलासा गरे। प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रशिक्षण
युथ इको नेपाल को आयोजनामा सञ्चालन भइरहेको एक्स्पोमा देशभरबाट करिब दुई हजार सौन्दर्यकर्मी, व्यवसायी, कलाकार तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने सहभागीहरू जुटेका छन्।
आयोजक संस्थाका संरक्षक नरेश रन्जित का अनुसार कार्यक्रमको मुख्य आकर्षण भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष प्रशिक्षण रहेको छ।

त्यस्तै, सौन्दर्य क्षेत्रका चर्चित प्रशिक्षक म्याक अब्राहेम, रोहित तिवारी तथा नेपालका लोकप्रिय कलाकार चिराग द्वारा विभिन्न सौन्दर्य कक्षाहरू सञ्चालन भइरहेका छन्।
कार्यक्रममा दामा शर्मा, प्रतिमा श्रेष्ठ, निशान थापा, मधु ढुंगेल, श्रीभक्त काशिछवा तथा युवा व्यवसायी राजु कुटु लगायतले अन्तर्राष्ट्रियस्तरको सीप आदान–प्रदानमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलका अनुसार सौन्दर्य प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ । बिहीबार चिरागले प्रशिक्षण दिने उनले बताए ।








