सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने, महाशाखाले जारी गर्यो विशेष बुलेटिन

काठमाडौं । सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ ।

गर्मीले अहिले नै जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिन झन् तातो हुने पूर्वानुमान गरेको हो । त्यसैले महाशाखाले आज साँझ विशेष बुलेटिन जारी गरेर सतर्क रहन भनेको छ ।

महाशाखाका मौसमविदह?का अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अन्य जिल्लाको तुलनामा बढी गर्मी हुने भएकाले सतर्क रहन भनिएको छ ।

यसैगरी बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि आगामी दिन गर्मी बढ्ने भएकाले त्यहाँका बासिन्दालाई पनि गर्मीको अवस्थाबारे अध्यावधिक जानकारी लिँदै सतर्क रहन भनिएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा यही जेठ ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

साथै थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएको विशेष बुलेटिनमा उल्लेख छ । गर्मी बढ्ने भएकाले त्यसबाट बँच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले आज साँझ जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।