काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रनमै समेटियो ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले ५६ रन बनाए भने नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी र गुल्सन झाले २–२ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।
नेपालका लागि ईशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले ५९ र आसिफ शेखले ४३ रन जोडे । सन् २०२७ को विश्वकप छनोटका दृष्टिले शीर्ष चारमा पर्न यो जित नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।







