काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड अर्थात् उत्तीर्ण भए।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड अर्थात् एनजीमा परेका हुन् ।
बोर्डका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजामा सुधार देखिएको छ । २०८१ सालको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष उक्त प्रतिशत बढेर ६५.९८ पुगेको छ । यसअनुसार नतिजामा ४.१७ प्रतिशत बिन्दुले सुधार आएको देखिएको हो ।
त्यसअघि २०८० सालको एसईईमा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए भने ५२.१४ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । लगातार दोस्रो वर्ष नतिजामा सुधार देखिएको हो ।
सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ छ । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ तथा २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
त्यस्तै २ देखि २.४ जीपीए ल्याउने पाँच हजार १९० विद्यार्थी रहेका छन् भने १ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या सात रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।








