२०८३ वैशाख २६ गते काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा साहित्यिक ऊर्जाले भरिएको एउटा विशेष सांस्कृतिक क्षण सिर्जना भयो। साहित्यिक पत्रकार संघको आयोजनामा कवि शेखर ढुङ्गेलको नवीन कविताकृति ‘मृत्यु–उत्सव’ को लोकार्पण सम्पन्न हुँदा त्यो केवल पुस्तक विमोचनको औपचारिक कार्यक्रम मात्र रहेन, बरु जीवन, मृत्यु, समय, चेतना र साहित्यबारे गहिरो विमर्श गर्ने एउटा साहित्यिक पर्वजस्तै बन्यो।
कार्यक्रममा उपस्थित साहित्यप्रेमी, स्रष्टा, कलाकार, समालोचक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति स्वयंले पनि कृतिको साहित्यिक महत्त्वलाई उजागर गरिरहेको थियो। चर्चित कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, राजनीतिज्ञ पत्रकार देवप्रकाश त्रिपाठी, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, साहित्यकार गोविन्द गिरी प्रेरणा, गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा ‘वित्यासी’, अनेसासका प्रतिनिधिहरू तथा विभिन्न देशबाट जोडिएका नेपाली स्रष्टाहरूको सहभागिताले कार्यक्रमलाई अन्तरदेशीय साहित्यिक संवादको रूप दिएको थियो।
मञ्चासीन अतिथिहरूद्वारा सामूहिक रूपमा कृतिको लोकार्पण गरिएपछि वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘मृत्यु–उत्सव’ माथि समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए। उनले मृत्युलाई उत्सवका रूपमा हेर्न सक्नु आध्यात्मिक दृष्टिकोण भएको उल्लेख गर्दै कवि ढुङ्गेलका कवितामा स्वदेशप्रेम, सामाजिक विसंगति, भ्रष्टाचारप्रतिको व्यङ्ग्य चेतना र जीवनदर्शनको गहिरो स्पर्श रहेको बताए। ८३ वटा कविताहरू समेटिएको उक्त कृतिले देशभित्र मात्र होइन, देशबाहिरको नेपाली संवेदनालाई पनि समेटेको उनको भनाइ थियो। उनका अनुसार प्रवासमा बसेर नेपाली साहित्य सिर्जना गर्नु आफैंमा एउटा सांस्कृतिक साधना हो।
कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो मन्तव्यमा संघको ५३ वर्षे यात्रालाई स्मरण गर्दै नेपाली भाषा, साहित्य, कला र साहित्यिक पत्रकारिताको विकासमा संस्थाले पुर्याएको योगदानको चर्चा गरे। उनले वर्तमान नेपाल परिवर्तनको संघारमा उभिएको उल्लेख गर्दै साहित्यले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको केन्द्रमा रहेका कवि शेखर ढुङ्गेल भने अत्यन्त भावुक र आत्ममन्थनशील देखिन्थे। आफ्नो मन्तव्यमा उनले लेखिएका कविताहरूलाई आफूले सामान्य भावनाको अभिव्यक्तिका रूपमा मात्र लिएको तर जब अरू स्रष्टाहरूले तिनलाई स्वर दिए, समालोचकहरूले व्याख्या गरे, तब आफूले केही अर्थपूर्ण सिर्जना गरेको अनुभूति भएको बताए। उनले मृत्युलाई भय होइन, चेतनाको उत्सवका रूपमा बुझ्नुपर्ने धारणा राख्दै भने— “भूतलाई छाडेर वर्तमानमा बाँच्न सकियो भने र मृत्युको डर हटाइयो भने जीवनमा नयाँ ऊर्जा आउँछ।”
कृतिभित्रका केही कविताहरू कार्यक्रममा वाचन पनि गरिएका थिए। कवि सुमन थापा सङ्गमले ‘ढुङ्गा’, कवि गीता कार्कीले ‘मैले च्यातेँ प्रमाणपत्र’ तथा कवि मणि लोहनीले ‘मृत्यु’ शीर्षकका कविताहरू प्रस्तुत गर्दा सभाहल केही क्षणका लागि गम्भीर संवेदनाले भरिएको थियो। शब्द, स्वर र अनुभूतिको त्रिवेणीले कार्यक्रममा उपस्थित श्रोताहरूलाई गहिरो साहित्यिक अनुभूति गराएको थियो।
कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, मदनदास श्रेष्ठ तथा देवप्रकाश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गर्दै कवि ढुङ्गेलको सिर्जनात्मक यात्राको प्रशंसा गरे। सो अवसरमा साहित्यिक पत्रकार संघले कवि ढुङ्गेललाई सम्मान गरेको थियो भने कवि ढुङ्गेलले आफ्नो कृतिको आवरण निर्माण गर्ने कलाकार तथा कवि नरेन्द्रबहादुर श्रेष्ठलाई विशेष सम्मान अर्पण गरेका थिए। तीन सयभन्दा बढी कृतिमा निःशुल्क आवरण निर्माण गरिसकेका श्रेष्ठको योगदानलाई उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रमको अन्त्यतिर संघकी कोषाध्यक्ष कवि पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने गीतकार तथा कलाकार नरहरि प्रेमीले अत्यन्त कलात्मक ढङ्गले कार्यक्रम सञ्चालन गरेका थिए। उनले कृतिभित्रका केही कविताहरूलाई लयबद्ध स्वरमा प्रस्तुत गर्दा कार्यक्रमले साहित्य र संगीतको संयुक्त सौन्दर्य प्राप्त गरेको थियो।
समग्रमा ‘मृत्यु–उत्सव’ को लोकार्पण समारोहले मृत्युजस्तो गम्भीर विषयलाई पनि जीवनदर्शन, चेतना र सिर्जनात्मक ऊर्जासँग जोडेर हेर्न सकिने सन्देश दिएको अनुभूति गरायो। कवि शेखर ढुङ्गेलले शब्दमार्फत मृत्युको भय होइन, जीवनको गहिराइ उत्सवका रूपमा अनुभव गर्न आमन्त्रण गरेका छन्।







