वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ- राष्ट्रपति पौडैल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरूपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ,’ राष्ट्रपति पौडेलले भने।

दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकारलगायत सबैलाई उनले सुझाव दिए। राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि विस्तारै बुढ्यौलीतिर उन्मुख रहेको बताए।

‘युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्, यस्तो स्थितिमा ज्येष्ठ नागरिकहरूको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने।

स्वस्थ्यकर सामग्री खानु, लाउनु र आवश्यक परेका अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु ज्येष्ठ नागरिकको हक भएको उनको भनाइ थियो। उनीहरूले पनि उस्तै उमेरका वा अरू जोसुकैसित पनि अन्तरक्रिया गर्ने एवं सकेसम्म परिवारमै स्थापित भएर जीवनयापन गर्न पाउनुपर्नेमा राष्ट्रपतिले जोड दिए।

‘सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी तथा पारिवारिक असहिष्णुता एवं अन्य कारणबाट जीवनका उत्तरार्धमा वरिष्ठ नागरिकका आँखामा आँसु आएका समाचारले जोसुकैको पनि मन भ्रवित पार्छ,’ राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले सम्मेलन ज्ञान र सीपको अन्तर्पुस्ता हस्तान्तरण तथा जनसङ्ख्याको अवस्थाअनुसार अघिल्लो र पछिल्लो पुस्ताको समिश्रणको एक सेतु बन्न सकोस् भन्ने सुझावसहित सम्मेलनको सफलताको शुभकामना व्यक्त भने। दक्षिण एसियामै वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहनजी सरल र सादगी नेता भएको उनको भनाइ थियो।