काठमाडौं । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ ।
उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए । तर अमेरिकाको इरानमाथि पुन: आक्रमण गरेको समाचार सार्वजनिक भएको हो ।
अमेरिकी सेन्ट्रल कमाण्डले भने अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । सेन्ट्रल कमाण्डको वक्तव्यमा लेखिएअनुसार, अमेरिकी जहाजहरू उक्त क्षेत्रमा गुज्रिरहेका बेला ईरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेका थिए ।
इरानको उच्च सैन्य नेतृत्वले अमेरिकामाथि ‘युद्धविराम उल्लंघन’ गरेको आरोप लगाएको छ । इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले जारी गरेको वक्तव्यमा अमेरिकाले होर्मुज जलडमरूमध्यतर्फ गइरहेको एक ईरानी तेल ट्यांकरमाथि आक्रमण गरेर युद्धविराम तोडेको आरोप लगाएको हो । इरानले आफ्ना सशस्त्र बलले तत्काल जवाफी कारबाही गरेको र तिनलाई ठूलो क्षति पुर्याएको जनाएको छ ।
इरानी नौसेनाले ‘शक्तिशाली विस्फोटक वारहेड’ प्रयोग गरेर जवाफ दिएको र आफ्ना गुप्तचर प्रतिवेदनअनुसार अमेरिकालाई ‘ठूलो क्षति’ पुगेको दाबी गरेको छ । साथै घुसपैठ गर्न खोज्ने जहाजहरू तीव्र गतिमा भागेको पनि उल्लेख गरेको छ ।
ट्रम्पले भने– इरानसँग वार्ता भइरहेको छ
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै अमेरिका इरानी पक्षसँग वार्तामा रहेको बताएका छन् । उनले अमेरिका र इरानबीच गोलीबारी भए पनि युद्धविराम अझै कायम रहेको दाबी गरे ।
उनले कुनै पनि अवस्थामा इरानलाई परमाणु हतियार राख्न नदिइने दोहोर्याए । ट्रम्पका अनुसार इरान यसमा सहमत भइसकेको छ । उनले थपे, ‘अब हेर्न बाँकी छ, उनीहरू यसमा हस्ताक्षर गर्न तयार हुन्छन् कि हुँदैनन् ।’
ट्रम्पले चेतावनी दिँदै भने, ‘वार्ता निकै राम्रोसँग अघि बढिरहेको छ । तर यदि सम्झौतामा हस्ताक्षर भएन भने उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने छ । मलाई लाग्छ, यो सम्झौताको आवश्यकता उनीहरूलाई मभन्दा बढी छ ।’
शान्ति सम्झौता जोखिममा ?
पाकिस्तानमा दुई देशका उच्च अधिकारीबीच भएको वार्ताको प्रगतिअनुसार केही समयका लागि आक्रमण रोकिएको भनिए पनि अमेरिका र इरानबीचका ताजा आक्रमणले शान्ति सम्झौता जोखिममा पर्ने चिन्ता छ । अमेरिकाले भने आफू ‘तनाव बढाउन नचाहेको, तर पूर्णरूपमा तयार र तैनाथ रहेको’ जनाएको छ ।
स्ट्रेट अफ होर्मुज विश्वभर तेल र ग्यास ढुवानी हुने एक महत्वपूर्ण जलमार्ग हो । यसको एकातर्फ इरान छ भने अर्कोतर्फ ओमान र यूएई रहेका छन् । यहाँ तनाव बढ्दा विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको छ । र, मूल्य पनि आकासिएको छ ।
ट्रम्प प्रशासनले गत महिना होर्मुज क्षेत्रमा रहेका इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो । इरानी बलले आफ्नो तटीय क्षेत्रमा आउने–जाने जहाज रोक्ने वा फर्काउने घोषणा गरेपछि अमेरिकाले यस्तो कदम चालेको थियो । अमेरिकाले इरानको तेल निर्यातबाट हुने आम्दानी सीमित गरेर उसमाथि दबाब सिर्जना गर्न खोजिएको जनाएको छ ।
अमेरिकाको दाबीअनुसार, फेब्रुअरी अन्त्यतिर युद्ध सुरु भएयता उसले दर्जनौं इरानी जहाज नियन्त्रणमा लिएको छ । अप्रिल ७ मा युद्धविरामको अपिल भएयता पनि यस्ता झडपहरू पटक–पटक भइरहेका छन् ।
सोमबार अमेरिकाको सेन्ट्रल कमाण्डले ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गत अमेरिकी डिस्ट्रोयरहरू होर्मुज जलडमरूमध्य पार गरेको जनाएको थियो । यस अभियानको उद्देश्य समुद्री व्यापारिक मार्ग खुला राख्नु रहेको बताइएको थियो ।
उसले इरानका ६ वटा साना डुंगा नष्ट गर्नुका साथै क्रुज मिसाइल र ड्रोन खसालेको दाबी पनि गरेको थियो । त्यसको भोलिपल्ट ट्रम्पले उनले ईरानसँगको वार्तामा उल्लेखनीय प्रगति भएको भन्दै ‘प्रोजेक्ट फ्रीडम’ नाम दिइएको सैन्य अभियान केही समयका लागि स्थगित गरिएको घोषणा गरेका थिए ।







