हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा आफ्नो घर तथा कार्यालयमा गरिएको छापाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी प्रक्रियामा भने पूर्ण सहयोग गर्ने बताएका छन्।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनले विद्यार्थी जीवनदेखि करिब चार दशक लामो राजनीतिक यात्रापछि जनताको सेवकका रूपमा मुख्यमन्त्री पदमा रहँदा सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गरेका छन्।
सोही अनुसार प्रदेश सरकारका कामकारबाहीमा खर्च नियन्त्रण, आर्थिक मितव्ययिता र पारदर्शितालाई नीतिगत रूपमा अघि बढाइएको पनि उनले बताएका छन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित घर तथा विगतमा संलग्न निर्माण सेवासम्बन्धी कार्यालयमा गरेको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक छविमा आघात पुगेको महसुस भएको उनले बताएका छन्।
साथै, राज्यका निकायले अनुसन्धान गर्दा आफू भौतिक रूपमा उपस्थित हुन नसकेको अवस्थामा गरिएको छापाप्रति आपत्ति जनाएका छन्।
मुख्यमन्त्री बानियाँले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारको नेतृत्वमा भएका सकारात्मक कार्यमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन्।
अन्त्यमा उनले संवैधानिक तथा कानुनी दायराभित्र रही गरिने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बागमती प्रदेशवासीलाई अनावश्यक भ्रममा नपर्न आग्रह गरेका छन्।








