काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर गोकर्णेश्वरमा बृहत् औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ।
औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका–४, हनुमान चोकमा ‘तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३’ सञ्चालन हुन लागेको हो।
उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने र स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा र भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ। साथै पर्यटनसँग सम्बन्धित गतिविधिहरू पनि समावेश गरिनेछन्।
करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा मनोरञ्जनका विविध आकर्षणहरू समेटिनेछन्। एशियाकै उत्कृष्ट बाल उद्यानसहित रोटे पिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायतका खेल सामग्री रहनेछन् भने विभिन्न परिकारसहितको खाना महोत्सव पनि आयोजना हुनेछ।
दैनिक रूपमा चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने र ‘गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिता पनि आयोजना गरिनेछ, जसको संयोजन शिखर छहारी सांस्कृतिक कला केन्द्रले गर्नेछ।
महोत्सवको विशेष आकर्षणका रूपमा लण्डन ब्रिज शैलीको मुख्य प्रवेशद्वार निर्माण गरिने आयोजकले जनाएको छ। कुल १२० वटा स्टल रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ भने महिला उद्यमी र स्थानीय सीप–कलाका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ।
प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ। विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य हुनेछ। जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्षमुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
यसैबीच, जेठ ८, ९ र १० गते विशेष सांगीतिक कन्सर्टसमेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ।


