काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।
पछिल्लो समय आफ्नो सम्पत्तिलाई लिएर चासो र चर्चा हुन थालेपछि उनले फेसबुकमार्फत पैतृक र व्यक्तिगत सम्पत्तिको फेहरिस्त सार्वजनिक गर्ने घोषणा गरेका हुन्।
उनले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको दाबी गर्दै पुर्ख्यौली सम्पत्तिको रूपमा खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा केही खेतबारी रहेको उल्लेख गरेका छन्। ‘मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ, जहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारीहरू छन्,’ साम्पाङले फेसबुकमा लेखेका छन्।
उनले आफ्नो पुर्ख्यौली थलो भिरालो पाखामा रहेको र त्यसमा दाजुभाइ तथा दिदीबहिनीहरूले अहिलेसम्म अंशबण्डा नगरेको समेत प्रष्ट पारेका छन्।
व्यक्तिगत कमाइका बारेमा चर्चा गर्दै उनले वैदेशिक रोजगारीमा रहँदा जोडेको ४ देखि ५ तोला सुन र बैंकमा २ देखि ४ लाख रुपैयाँ मात्र ब्यालेन्स हुन सक्ने बताएका छन्।
साम्पाङले आफ्नो सम्पत्ति विवरण केही दिनमै औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन्। सधैँ पारदर्शी र जनपक्षीय काम गर्ने दाबी गर्दै आएका उनले सम्पत्ति विवरण मागेकाहरूलाई लक्षित गर्दै आफ्नो वास्तविक अवस्था यही भएको बताएका हुन्।







