स्टन्टमा समय बर्बाद नगर्न सरकारलाई सुझाव

yubaraj dulal

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुखको सचेतक युवराज दुलालले सरकारलाई कामको नाममा देखावटी स्टन्ट नगर्न सुझाव दिएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारलाई केवल स्टन्टमा जाने मात्र होइन, जिम्मेवार र परिणाममुखी काम गर्न सुझाव दिएका हुन्।

उनले भने, सरकारको समय अनावश्यक प्रयोग र देखावटी गतिविधिमा खर्चिएमा नवयुवाहरूको अपेक्षा सम्बोधन गर्न कठिन हुनेछ। “स्टन्ट गरेर समय बर्बाद गर्नु होइन, ठोस काम देखाउनुपर्छ,” उनको भनाइ छ । साथै, उनले सरकारलाई संविधानको मर्मअनुसार अघि बढ्न समेत सचेत गराएका छन् ।

दुलालले विगतमा राज्यद्वारा विभेदमा परेका समुदाय, विशेषगरी दलित समुदायप्रति सरकारले व्यक्त गरेको माफीलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे। उनले संविधानले उत्पीडित वर्गलाई अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै समाजमा वास्तविक समानता स्थापित हुने बताए।

नव-निर्वाचित सभामुख डोलप्रसाद अर्याल प्रति शुभकामना व्यक्त गर्दै उनले संसद् निष्पक्ष र सबैको आवाज सुन्ने थलो बन्नुपर्ने धारणा राखे। “संसद् बहुमतको बलमा पेलेर निर्णय गर्ने स्थान नबनोस्,” उनले जोड दिए।

त्यसैगरी, उनले जेन–जी आन्दोलनलाई व्यवस्थाविरुद्धको विद्रोह नभई अवस्था सुधारको मागका रूपमा व्याख्या गर्दै त्यसअनुसार राज्यले संवेदनशील व्यवहार गर्नुपर्ने बताएका छन्।