गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।
मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्याएर उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर हुनेमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा, मिना सनामी छ ।
अन्य पाँचजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।







