काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका छन् ।
समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्य रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
समितिलाई आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने, सो आवमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने जिम्मेवारी दिइएको छ ।
सरकारले आगामी १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नेछ । आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्व ऐनअनुरूप सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यतालिका सुरु भइसकेको छ ।







