एजेन्सी । हर्मुज जलमार्गमा इरानी अवरोध हटाउन अरू देशहरूले पनि त्यहाँ बल प्रयोग गर्ने विषयमा शुक्रबार मतदान हुँदैछ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा शुक्रबार यसबारेमा मतदान हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
अमेरिका र इसराइलले हवाई आक्रमण गरी आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेको छ। युद्ध जारी रहँदा विश्वको २० प्रतिशतभन्दा बढी तेल पैठारी हुने हर्मुज महिना दिनभन्दा बढी समयदेखि बन्द छ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बहराइनले हर्मुज खुलाउन अन्य देशहरूले आवश्यक सबै प्रतिरक्षात्मक उपाय प्रयोग अनुमति दिने प्रस्ताव लगेको हो। १५ सदस्यीय सुरक्षा परिषद्को अध्यक्षता अहिले बहराइनले नै गरिरहेको छ।
बहराइनको प्रस्तावमा अरब राष्ट्रहरू र संयुक्त राज्य अमेरिकाको समर्थन रहेको कुटनीतिज्ञहरूले बताएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज खुलाउन अरू राष्ट्रहरूले त्यहाँ आक्रमण गर्नुपर्ने र उनीहरूले सहायता मागेको अवस्थामा अमेरिकाले सहयोग गर्ने बताउँदै आएका छन्।
बहराइनका विदेशमन्त्री अब्दुल्लतिफ बिन राशिद अल जयानिले प्रस्तावको पक्षमा साझा निर्णय आउने बताएका छन्।
प्रस्तावमा कम्तीमा ६ महिनाका लागि हर्मुज क्षेत्रमा जहाज आवतजावत सुरक्षित गर्न सदस्य राष्ट्रहरूलाई आवश्यक प्रतिरक्षात्मक कदम चाल्न अधिकार दिने व्यवस्था गरिएको छ।
तर चीनले भने बल प्रयोगलाई वैधता दिनु खतरनाक हुने भन्दै विरोध जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत फु कोंग ले यस्तो कदमले अवैध र अन्धाधुन्ध बल प्रयोगलाई वैधता दिने र परिस्थितिलाई थप तनावपूर्ण बनाउने चेतावनी दिए।
प्रस्तावको अघिल्लो मस्यौदामा कार्यान्वयनका कडा प्रावधानहरू हटाइएको थियो। जसले रुस र चीनजस्ता देशको आपत्ति कम गर्ने प्रयास गरिएको जनाइएको छ। सुरक्षा परिषद्को प्रस्ताव पारित हुन कम्तीमा ९ मत आवश्यक पर्छ।
स्थायी सदस्य रहेका अमेरिका, रूस, चीन, बेलायत र फ्रान्ससँग भने भिटो अधिकार हुन्छ। अमेरिकाल र स्थायी सदस्य—अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स—मध्ये कसैले भिटो नलगाउनुपर्ने प्रावधान छ।
सुरूवाती प्रस्तावमा रूसले आपत्ति जनाएको थियो। उसले यस्तो प्रस्तावले सैन्य हस्तक्षेपलाई बैधता दिने र त्यसले समाधान भन्दा अझै तनाव निम्त्याउन सक्ने चेतावनी दिएका थियो।
त्यसकारण मतदान हुँदा उसले भिटो प्रयोग गरी प्रस्ताव अस्वीकृत गर्न सक्ने शंका पनि छ। तर पछिल्ला दिनमा साउदी अरबबाट भएको कुटनीति प्रयासले रूस केही नरम हुन सक्ने संकेत देखिएको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
साउदी युवराज मोहम्मद बिन सलमानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष संवाद गरेका थिए। त्यसकारण मस्कोले भिटो प्रयोग नगर्ने अपेक्षा गरिएको बताइएको छ।
बहराइनले इरानले हर्मुज जलडमरुमा अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउँदै यसले विश्वव्यापी व्यापार, ऊर्जा आपूर्ति र आपूर्ति श्रृंखलामा गम्भीर असर पार्ने चेतावनी दिएको छ।
यसैबीच २२ सदस्यीय अरब लिग ले पनि बहराइनको पहललाई समर्थन गरेको छ भने बेलायतले ४० भन्दा बढी देशसँग बैठक गर्दै जलमार्ग पुनः सञ्चालन र सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रयासबारे छलफल गरेको छ।






