त्रिवि शिक्षण अस्पतालको भिआइपी क्याबिनमा भर्ना भए ओली

काठमाडौँ । शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनलाई अस्पतालको भिआइपी क्याबिनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ। उनलाई मिर्गौला प्रत्यारोपणका बिरामीलाई राख्ने बेडमै राखिएको अस्पतालले जनाएको छ।

त्यहाँ भर्नाअघि ओलीलाई आकस्मिक कक्षको २७ नम्बर बेडमा राखिएको थियो। त्यहाँ उनको परीक्षणपश्चात भिआइपी क्याबिनमा भर्ना गरिएको हो।

भक्तपुरको गुण्डुबाट पक्राउ गरी उनलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याएको थियो। त्यहाँ केही बेर राखेपछि उनलाई स्वास्थ्य जाँच गराउन त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो।