साउदी अरबले भन्योः अवरोध कायमै रहे तेलको मूल्य १८० डलर नाघ्न सक्छ

काठमाडौं । ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् ।

द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो ।

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो।

रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका साउदी अरबको विदेश नीतिका विशेषज्ञ उमेर करिमले अलजजिरालाई बताएअनुसार, युद्ध यसरी नै अगाडि बढिरहे तेलको मूल्य प्रति ब्यारेल कम्तीमा १५० डलर पुग्ने सम्भावना उनले औंल्याए ।

‘यदि यी लाल सागरका टर्मिनलहरूमा आक्रमण भयो भने, यदि लाल सागरभित्र कुनै पनि प्रकारको अवरोध भयो भने मलाई लाग्छ १५० डलरभन्दा माथि पुग्ने सम्भावना धेरै छ,’ करिमले भने।

उनले थपे, ‘अहिले, युरोप र एसियाबीचको यो एक मात्र सम्भाव्य सम्पर्क मार्ग हो ।’ साउदी अरबले खाडीबाट १,००० किलोमिटरभन्दा बढी दूरीमा रहेको लाल सागरको यान्बु बन्दरगाहबाट तेल निर्यातलाई निरन्तरता दिइरहेको छ ।

खाडीभरिका ऊर्जा केन्द्रहरू इरान र इजरायल दुवैको आक्रमणको सिकार भइरहेकाले यो बन्दरगाह पनि निशाना बन्न सक्ने साउदी अधिकारीहरूको आशंका छ ।

रास लाफानको क्षतिको असर कति ?

पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसीकी एनी-सोफी कोर्बोका अनुसार, कतारमा रहेको विश्वको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात प्लान्ट रास लाफान यसै साता इरानको आक्रमणमा परेपछि लामो मर्मतसम्भार गर्न कति लाग्छ भन्ने हिसाबकिताब गरिरहेको छ ।

‘क्षतिको प्रभाव हामीलाई अझै थाहा छैन,’ कोर्बोले भनिन्। उनले थपिन्, ‘अन्य एलएनजी केन्द्रहरूमा भएका अघिल्ला घटनाहरूको आधारमा, यसलाई मर्मत गर्न महिनौं लाग्न सक्छ।’

उनले थपिन्, ‘यसअघि एलएनजी केन्द्रमा भएको ठूलो घटना सन् २०२२ मा टेक्सासमा रहेको फ्रिपोर्ट एलएनजीमा भएको थियो । उक्त केन्द्र आठ महिनासम्म बन्द भएको थियो।’ त्यसअघि, सेप्टेम्बर २०२० मा आगलागी भएपछि नर्वेको स्नोभिट डेढ वर्षसम्म बन्द भएको उनले बताइन् ।

‘सबैभन्दा खराब अवस्थाको परिकल्पना गर्दा, रास लाफान सन् २०२६ सम्म पुनः सञ्चालनमा नआउन सक्छ, जसको अर्थ २०२६ मा एलएनजीको आपूर्ति हामी २०२१ मा जति थियौं, लगभग त्यही स्तरमा पुग्नेछ,’ उनले भनिन्।

यो पाँच वर्षको धक्का हुन सक्ने उनको विश्लेषण छ । ‘विश्वका लागि र ग्यासको मूल्यमा यसको प्रभाव धेरै व्यापक हुनेछ,’ उनले भनिन्।