आदर्श भाइ त्यो पद नलिऊ, प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाइदेऊ- महावीर पुन

काठमाडौँ । पूर्वशिक्षामन्त्री एवम् म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा मनोनीत भएका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई उक्त पद नलिन आग्रह गरेका छन्।

आइतबार प्रधानमन्त्री कार्कीले कोषको अध्यक्षमा आफ्नै स्वकीय सचिवलाई मनोनीत गर्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।

उनले प्रधानमन्त्री कार्कीको निर्णय सय प्रतिशत नै गलत भएकाले मनोनीत भएका आदर्शलाई नै उक्त पद नलिन आग्रह गरेका हुन्।

‘आर्दश भाई, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिऊ। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ,’ पुनले भनेका छन्।

उनले यस्तै किसिमका नातावाद, चाकरीवाज, कृपावाद, चापलुसीवादले पुराना दलहरु खतम भएको र यस्तै भए नयाँहरू पनि कालान्तरमा मासिने उनले बताएका छन्।

‘होसियार गर्ने म छु । त्यो नियुक्ती अब आउने सरकारले बुद्धि पुऱ्याएर गरोस्,’ उनले भने।