इरानी हमलाको तस्बिर र भिडिओ खिच्नेहरूलाई पक्राउ गर्दै युएई

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले गरेको हमला र उक्त हमलालाई त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले नष्ट पार्दै गरेको तस्बिर तथा भिडिओ खिचेर सार्वजनिक गर्नेलाई पक्राउ गर्न थालेको छ।

इरानमा अमेरिका र इसराइलले हमला गरेपछि इरानले युएई लगायतका मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर ड्रोन र मिसाइल प्रहार गरिरहेको छ।

हवाई हमला हुँदा त्यसको फोटो र भिडिओ खिचेर सामाजिक सञ्जाल र वेबसाइटहरूमा राख्ने क्रम व्यापक बढेपछि युएईले त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्न थालेको हो।

बिबिसीका अनुसार हवाई हमला हुँदा युएईको प्रतिरक्षा प्रणालीले निस्तेज पारेको फोटो/भिडिओ सार्वजनिक गर्ने १० जनालाई पक्राउ गरी द्रुत सुनुवाइ हुने विशेष अदालतमा पेस गरिएको छ।

पक्राउ परेकाहरूमाथि आक्रमणलाई निस्तेज पारेको श्रव्य दृश्य सामग्रीसँगै एआईबाट भिडिओ र तस्बिर बनाएर सार्वजनिक गरी त्रास र भ्रम फैलाएको आरोप लगाइएको छ।

त्यसबाहेक अलग्गै कारबाहीमा विभिन्न देशका ४५ जनालाई पनि पक्राउ गरिएको बिबिसीले जनाएको छ। उनीहरूमाथि पनि आक्रमणको भिडिओ खिचेर भ्रामक सूचना फैलाइएको आरोप छ। पक्राउ पर्नेहरू कुन कुन देशका हुन् भनेर खुलाइएको छैन।

गत हप्ता दुबईमा ६० वर्षीय वेलायती नागरिक पक्राउ परेका थिए। उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। उनले दुबईमाथि उडिरहेको इरानी मिसाइलको भिडिओ खिचेका थिए।

‘डिटेन्ड इन दुबई’ नामक संस्थाकी प्रमुख राधा स्टर्लिङका अनुसार हालसम्म हालैका क्षेप्यास्त्र आक्रमणसँग सम्बन्धित भिडियो र सामाजिक सञ्जाल पोस्टका कारण २१ जनामाथि साइबर अपराध कानुनअन्तर्गत आरोप लगाइएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार युएईमा साइबर अपराधसम्बन्धी कसुरमा कम्तिमा दुई वर्ष जेल सजाय र २ लाख युएई दिराम जरिवाना हुन सक्नेछ।

अमेरिका-इरान युद्ध सुरू भएयता इरानले युएईमा १८०० भन्दा ड्रोन र मिसाइल प्रहार गरेको छ। तीमध्ये धेरै मिसाइल र ड्रोन युएईको प्रतिरक्षा प्रणालीले नष्ट पारेको छ। युएईमा अहिलेसम्म एक नेपालीसहित ६ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।